रोमाञ्चक फाइनलको ८५० दिनपछि खेल्दै न्युजिल्यान्ड र इंग्ल्यान्ड

काठमाडौँ । यूएईमा चलिरहेको टी-ट्वेन्टी विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दैछन् । आईसीसी इभेन्टमा यी दुई देश २०१९ को एकदिवसीय विश्वकप फाइनलपछि अर्थात ८५० दिन पछि प्रतिस्पर्धा गर्न लागेका हुन् । तर, त्यो खेल खेलेका आधा खेलाडीमात्र आजको खेलमा हुनेछन् ।

त्यो रोमाञ्चक फाइनलको सम्झना अहिलेपनि क्रिकेटप्रेमीले भुलेका छैनन् । जहाँ सुपर ओभरमा इंग्ल्यान्ड विजयी हुँदै विश्वकप भित्र्याएको थियो । निर्धारित ओभरमा दुवै टिमले २४१ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो । जहाँ इंग्ल्यान्ड भाग्यशाली रह्यो ।

२४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई अन्तिम ४ बलमा जितका लागि १५ रन चाहिएको थियो । इंग्ल्यान्डले एक छक्का हानेपछि जितका लागि ३ बलमा ९ रन जरुरी भयो । तर अर्को बलमा स्टोक्सले २ रन लिए । तर रनआउट गर्ने धुनमा न्युजिल्यान्डका बलरले बल ‘ओभर थ्रो’ गर्दा चौका हुनपुग्यो । अन्तिम बलमा २ रन आवश्यक भएपनि इंग्ल्यान्डका खेलाडीले १ रनमात्र लिन सकेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन बनायो । १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रनमात्र बनाएपछि धेरै बाउन्ड्री प्रहार गरेको आधारमा इंग्ल्यान्ड विजयी भयो ।

त्यसैले आज दुबईमा नेपाली समयअनुसार बेलुका ७:४५ मा सुरू हुने खेल न्युजिल्यान्डका लागि त्यो हारको बदला लिने मौकासमेत हो । तर मुख्यत: यी चीर परिचित प्रतिद्वन्द्वीको लक्ष्य विश्वकपको फाइनलमा स्थान बनाउनु हुनेछ ।

चोटको पीडामा इंग्ल्यान्ड
एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्डलाई खेलाडीको चोटले दुखाइ बढाएको छ । बेन स्टोक्स र जोफ्रा आर्चरको अनुपस्थितिमा पनि इंग्ल्यान्डको राम्रो टीम बनेको छ । जसका कारण समूह चरणमा इंग्ल्यान्डले प्रभावशाली प्रदर्शन गर्योा । श्रीलंकासँगको खेलमा इंग्ल्यान्डका ‘डेथ ओभर स्पेशलिस्ट’ टाइमल मिल्सलाई तिघ्रामा चोट लाग्यो । त्यसपछि दक्षिण अफ्रिकासँगको खेलमा सफल ओपनर जेसन रोय रन लिने क्रममा घाइते हुँदै विश्वकपबाटै बाहिरिए ।

आईसीसी इभेन्टमा कीवी टीमको रवाफ
न्युजिल्यान्डले फेरि एकपटक आजको खेलमा बलियो खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । पछिल्ला केहि वर्षमा लगातार महत्वपूर्ण प्रतियोगिताको सेमिफाइनलमा पुगेको न्युजिलयान्ड विश्वकपमा अन्डर डगको रुपमा मैदान उत्रनेछ । त्यसैले इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेलमा बलियो प्रतिस्पर्धा हुने ठानिएको छ ।

यी खेलाडीमा हुनेछ नजर
२०१९ को भेटमा अन्तिम बलमा रनआउट भएका मार्टिन गुप्टील सर्वाधिक ‘इम्प्रेसिभ’ खेलाडी हुन् । उनी अहिले पनि उत्तिकै उच्च फर्ममा छन् । १३१.३४ को स्ट्राइक रेटमा १७६ रन बनाएकाले उनी इंग्ल्यान्डसँग त्यो हारको बदला लिन मैदानमा डट्नेछन् ।

इंग्ल्यान्डका मोइन अलीलाई आफूलाई थप प्रमाणित गर्ने चुनौती छ । २०१९ को फाइनलमा आफ्नो खराब फर्मका कारण उनी टीमबाट बाहिर रहे । सारजाहमा रोयको चोटका कारण उनलाई मौका मिलेको थियो । जहाँ उनले २७ बलमा सर्वाधिक ३७ रन बनाएका थिए । त्यसैले न्युजिल्यान्डसँगको खेलमा पनि उनीसँग अलराउन्ड प्रदर्शनको अपेक्षा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *