‘जलवायु परिवर्तन’का समाचारमा विज्ञान अनिवार्य हुनुपर्छ : नेफेज

काठमाडौँ। नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले जलवायु परिवर्तनबाट सिर्जित समस्याहरूलाई प्रभावकारी रूपमा उठान गरी तीनलाई समाधानको तहसम्म पुर्याउन यस क्षेत्रका संघसंस्था र विज्ञहरूको अध्ययन, अनुसन्धान र ज्ञानलाई सञ्चारकर्मीहरूले अनिवार्य रूपमा समेट्नुपर्ने निष्कर्ष निकालेको छ ।
नेफेजले मंगलबार आयोजना गरेको एक कार्यक्रममा जलवायु परिवर्तन र यसले कृषि, जलविद्युत र बाढी पहिरोमा पारेको असरबारे सञ्चारकर्मीहरूलाई प्रदान गरेको लेखन वृत्ति अन्तर्गत प्रकाशित स्थलगत समाचारहरूको समीक्षात्मक कार्यक्रममा उपस्थित विज्ञ र सञ्चारकर्मीहरूको छलफलबाट उक्त निष्कर्ष निस्किएको हो ।
नेफेजले इकोनोमिक पोलिसी इन्क्यूवेटर (इपीसी)सँग मिलेर ३ जना सञ्चारकर्मीलाई लेखन वृत्ति प्रदान गरेको थियो । कार्यक्रममा समाचार संकलनका लागि स्थलगत खटिएका सञ्चारकर्मी र तीन जना विज्ञहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा उपस्थित विज्ञहरूले सञ्चारकर्मी र पत्रकारहरूले नियमित रूपमा प्रकाशन तथा प्रसारण गरिरहेका समाचार, लेखहरूमा जलवायु परिवर्तन आधारभूत विज्ञानलाई समेट्न आग्रह गरेका थिए।
उनीहरूले जलवायु परिवर्तनको विज्ञान, अध्ययन, अनुसन्धान र प्रभावित समुदाय वा सरोकारवालाको अनुभव समेटिएमा त्यस्ता समाचार वा लेखहरू अझ बढी प्रभावकारी र विश्वसनीय हुने तर्क गरेका छन् । जलस्रोत विज्ञ अजय दीक्षितले आम नागरिकलाई जलवायु परिवर्तनबारे सरल तरिकाले बुझाउने दायित्व सञ्चारकर्मीहरूको रहेको उल्लेख गर्दै भने, ‘सञ्चार माध्यमहरूले सूचना प्रदान गर्ने हो र ती सूचनालाई सरोकारवालाले ज्ञानको रूपमा विकास गर्नुपर्ने तर त्यो भएको छैन ।’
उनले यो मुद्दा नितान्त विज्ञानसँग जोडिएको उल्लेख गर्दै थप भने ‘सूक्ष्म अध्ययन र अनुसन्धानबाट आएको निष्कर्षहरुलाई समावेश गरियो भने मात्र ती सुचनाहरु प्रभावकारी र वास्तविक हुन्छन् ।’ अहिले आइरहेका सूचनाले जलवायु परिवर्तनबाट भइरहेको हानी–नोक्सानीहरूको पुष्टि गर्न निकै गाह्रो भएको दीक्षितको ठहर छ ।
उनले यस क्षेत्रमा पर्याप्त अनुसन्धान नभएको र भएका अध्ययन र तीनका निष्कर्ष वा विवरण संकलन गर्न पनि निकै गाह्रो भएको औल्याए । दीक्षितले हाइड्रोपावरसम्बन्धी लेखन वृत्ति प्रदान गरिएका नयाँ पत्रिकाका संवाददाता यम बमको सिन्धुपाल्चोकस्थित भैरवकुण्ड जलविद्युत आयोजना र यस क्षेत्रमा परेका असरबारे प्रकाशित समाचारको समीक्षा गरेका थिए ।
पहिरोविज्ञ डा। रन्जनकुमार दाहालले तापक्रम, वर्षा र मौसमको भविष्यवाणीको सूचना सरोकारवाला निकायसम्म फु¥याउने जिम्मेवारी सञ्चारकर्मीहरूको भएको जिकिर गर्दै भने, ‘समाचार र सूचना त आउँछन् तर तीनमा तथ्यगत विवरणको कमी हुन्छ । आरी घोप्टे वर्षा भयो भनिन्छ तर पानी कति मात्रामा पर्यो त्यो विवरण हुँदैन ।’
नासाको अध्ययनलाई आधार बनाउँदै उनले नेपालका हिमाली र पहाडी क्षेत्रहरूमा सन् २०६१ देखि २१०० बीचमा पहिरोको प्रलय हुनसक्ने चेतावनी दिए । उच्च हिमाली क्षेत्रमा ९० प्रतिशतसम्म पहिरोजन्य घटनाहरू हुनसक्ने, पूर्वको तुलनामा पश्चिम नेपालमा यस्ता गतिविधिहरू बढी हुने जानकारी दिए ।
विभिन्न अध्ययनलाई आधार मान्दै डा. दाहालले सिन्धुली, रामेछाप, ओखलढुङ्गा पहिरोको धेरै जोखिममा रहेको र बुटवल, अर्घाखाँची, प्युठान, सुर्खेत, बर्दिया र कैलालीको उत्तरी भेग पनि जोखिममा रहेको औँल्याए । यसैगरी मुगु, जुम्ला, हुम्ला, दार्चुला, डोल्पा, मनाङ र मुस्ताङ पनि जोखिममा रहेको बताए ।
यसले उल्लेखित जिल्ला वा क्षेत्रमा बसोबास गरिरहेका आम नागरिको रहनसहन, संस्कृति र परम्परा नै खलबलिन सक्ने आँकलन गरे। हिजोआज हिमपात हुने हिमालहरूमा आगामी वर्षहरुमा पानी पर्न सक्छ । त्यहाँ पहिरो जानसक्छ । हामीलाई ज्ञान नभएको विपत्ति आउन सक्छ । यसले धेरै क्षति गर्न सक्छ, डा. दाहालले भने ।








