टी-ट्वेन्टी विश्वकप

फाइनल पुग्न इङ्ल्याण्ड र न्युजिल्याण्ड खेल्दै

काठमाडौँ । आइसीसी टी-ट्वेन्टी विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल इङल्याण्ड र न्यूजील्याण्डबीच हुँदै छ । खेल आबुधाबीस्थित शेख जायेद स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे हुँदै छ ।

सुपर १२ को समूह १ बाट इङल्याण्ड समूहमा पहिलो हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ भने न्यूजील्याण्डले समूह २ बाट दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । आइसीसीको टी-२० वरियतामा हाल इङल्याण्ड शीर्ष स्थानमा रहेको छ भने न्यूजील्याण्ड चौथो स्थानमा रहेको छ । यस विश्वकपमा दुवैले खेलेका ५-५ खेलमा ४-४ खेल जितेर सेमिफाइनल खेल्दै छन् ।

टिमको प्रदर्शन हेर्दा इङल्याण्ड समग्रमा ब्यालेन्स टिम देखिए पनि अहिलेको न्यूजील्याण्डको टिमले कुनै पनि टिमलाई कडा टक्कर दिने क्षमता राख्छ । सुपर १२ का खेलमा इङल्याण्डले अस्ट्रेलिया जस्तो बलियो मानिएको टिमलाई पराजित गरेको थियो भने न्यूजील्याण्डले भारत जस्तो विश्वकपको दाबेदार मानिएको टिमलाई पराजित गरेको थियो ।

इङल्याण्डलाई आफ्ना ओपनर जासन रोय घाइते भएर विश्वकपबाट बाहिरिएपछि ठूलो झट्का लागेको छ । इङल्याण्डका जस बटलर, आन्द्रे राशिद, मोइन अली, कप्तान इओन मोर्गन जस्ता खेलाडीको प्रदर्शन सेमिफाइनलमा महत्त्वपूर्ण हुने देखिन्छ । बटलरले यस विश्वकपमा एक शतक र एक अर्ध शतकसहित २४० रन बनाएका छन् । त्यस्तै राशिदले५ खेलमा ८ विकेट लिएका छन् ।

त्यसै गरी न्यूजील्याण्डका लागि मार्टिन गप्टिल, कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ट, इश सोढ़ीको खेल महत्त्वपूर्ण हुने छ । न्यूजील्याण्डका लागि यस विश्वकपमा गप्टिलले सर्वाधिक १७६ रन बनाएका छन् । त्यस्तै कप्तान विलियम्सनले १२६ र डार्यल मिचेलले १२५ रन बनाएका छन् । त्यस्तै ट्रेन्ट बोल्टले सर्बाधिक ११ विकेट लिएका छन् भने सोढ़ीले ८ विकेट लिएका छन् ।

इङल्याण्डले यसअघि २०१० मा टी-ट्वेन्टी विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा वेस्टइन्डिजसँग फाइनलमा पराजित भएको थियो । त्यस्तै न्यूजील्याण्ड भने यस अघि २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो भने अहिलेसम्म टी-ट्वेन्टी विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *