कस्तो खेल्ला भारतले कप्तान कोहली र कोच शास्त्रीको बिदाइ खेल ?

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा आज (सोमबार) भारत र नामिबिया खेल्दैछन् । दुवै टिम समूह चरणबाटै बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाको खेल त्र हुनेछ । खेल दुबईमा नेपाली समयअनुसार राति ७:४५ बजे सुरू हुनेछ ।

तर भारतका लागि भने आजको खेल स्मरणीय हुनेछ । खासगरी कप्तान विराट कोहली र मुख्य प्रशिक्षक रवि शास्त्रीका लागि । विश्वकपका समूह चरणबाटै बाहिरिइसकेपनि दुवै अन्तिम खेल जितेर सान्त्वना खुसी हासिल गर्न चाहन्छन् ।

नामिबियासँगको खेल विराट कोहलीको कप्तानका रुपमा अन्तिम टी-ट्वेन्टी अन्तरराष्ट्रिय खेल हुनेछ । कोहलीले एकदिवसीय र टेस्टमा बढी ध्यान दिन भन्दै यो विश्वकपपछि टी-ट्वेन्टीको कप्तानी त्याग्ने बताइसकेका छन् ।

यस्तै, शास्त्रीले पनि आजको खेलपछि मुख्य प्रशिक्षकबाट बिदा लिँदैछन् । उनको ठाउँमा राहुल द्रविड भारतीय टिमको मुख्य प्रशिक्षक नियुक्त भइसकेका छन् । शास्त्रीसँगै कोचिङ स्टाफ भरत अरुण र आर श्रीधर पनि बाहिरिनेछन् ।

त्यसैले भारतीय टिम आजको खेल जित्दै कोहली र शास्त्रीलाई सम्मान दिन चाहन्छ । आज मुख्य खेलाडीलाई आराम दिएर बेन्चका खेलाडीलाई मौका दिने सम्भावना पनि छ । नामिबिया पनि क्रिकेटको एक हस्ती टिमविरुद्ध जीत हात पार्दै आश्चर्यजनक नतिजा निकाल्न चाहन्छ ।

सुरुका दुई खेलमा पराजित भएको भारतले त्यसपछिका दुई खेलमा राम्रो कमब्याक गरे पनि प्रतियोगिताको समूह चरणबाटै बाहिरिइसकेको छ । भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएपनि अफगानिस्तान र स्कटल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेको थियो । तर अन्तिम खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई हराएसँगै भारत प्रतियाेगिताको समुह चरणबाट बाहिरिएको छ ।

अब टी-ट्वेन्टीमा भारतीय टिमको नेतृत्व रोहित शर्माले सम्हाल्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *