सर्वोच्चमा शुरू हुन सकेन सुनुवाइ, जबराले चलाखीपूर्ण तरिकाले इजलास गठन गरेको दाबी

काठमाडौँ । सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ शुरू हुन सकेको छैन । तिहार बिदापछि खुलेको पहिलो दिन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित ६ वटा इजलास तोकेपनि एउटामा बाेहक अरु इजलासमा सुनुवाइ शुरू हुन सकेकाे छैन ।
कुमार चुडाल बाहेकका न्यायाधीश इजलासमा बसेका छैनन् । चुडालले एकल इजलासबाट एउटा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरी कारण देखाउ आदेश जारी गरेका छन् । उनको प्रधानन्यायाधीश जबरासँग संयुक्त इजलासमा पनि पेसी ताेकिएकाे छ ।
प्रधान न्यायाधीश जबराले आफूलाई पनि इजलाश तोक्नुका साथै चलाखीपूर्ण तरिकाले न्यायाधीशबीचमा फाटो ल्याउने प्रयास गरेर इजलास तोकेको भन्दै न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।
जबराले वरिष्ठ न्यायाधीशहरूलाई भने इजलास तोकेका छैनन् । जबराले सर्वोच्चका ‘कनिष्ठ’ न्यायाधीहरुलाई आफूसँगै इजलासमा राखेर नैतिक दबाब बढाउन खोजेको भन्दै न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।
जबराले सोमबार ‘चलाखीपूर्ण तरिकाले’ इजलास तोकेको न्यायाधीशहरूको भनाइ रहेको स्राेतले बताएकाे छ । प्रधान न्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका सबै न्यायाधीश आन्दोलनमा छन् भने नेपाल बार एशाेसिएशनले पनि आन्दोलन चर्काएको छ ।
केही कानून व्यवसायीहरूले भने इजलास बहिष्कार गर्ने न्यायाधीशलाई कारबाही हुनुपर्ने माग गर्दै आएका छन् । न्यायाधीशले इजलास बहिष्कार गर्दा बन्दी प्रत्यक्षीकरणजस्ता अति आवश्यक कानूनी उपचारका साथै दैनिक दर्जनौँ मुद्दाको सुनुवाइ प्रभावित हुँदै आएको छ ।
तिहारअघि केही दिन प्रधान न्यायाधीशले आफूलाई इजलास नतोकी अरू न्यायाधीशहरूका लागि मात्र तोकेका थिए । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणकाे मात्र सुनुवाइ गर्ने बताउँदै आएका थिए ।








