न्यूजिल्यान्ड विश्वकपको सेमिफाइनलमा, भारत र अफगानिस्तान बाहिरिए

काठमार्डाँ । न्यूजिल्यान्ड टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो । यससँगै यहि समुहमा रहेको भारत र अफगानिस्तान समुह चरणबाटै बाहिरिएका छन् ।

पाँचमध्ये चार खेल जितेको न्युजिल्यान्ड अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । चारमध्ये चारै खेल जितेको पाकिस्तान ८ अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तानले पाँचौँ खेलमा आजै स्कटल्यान्डसँग खेल्दैछ । यो खेल जिते पाकिस्तान समुह विजेता बन्ने छ भने पराजित भए दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

चारमध्ये दुई खेल मात्र जितेको भारत तालिकाको तेस्रो स्थानमा छ । भोली हुने नामिबियासँगको खेल जिते पनि भारतको ६ अंक मात्र हुनेछ ।

आज अफगानिस्तान विजयी भएको भए अफगानिस्तानसहित न्युजिल्यान्ड र भारतको समेत सेमिफाइनल प्रवेशको सम्भावना कायमै रहने थियो । भारत र नामिबियाको खेलको नतिजाले सेमिफाइनल पुग्ने एक टिमको छिनोफानो हुने थियो ।

यस समुहबाट पाकिस्तान यसअघि नै अन्तिम चारमा पुगिसेको छ ।

न्यूजिल्यान्डको जितसँगै समान दुई–दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

भारतले सुपर १२ को अन्तिम खेल सोमबार नामिवियासँग खेल्नेछ । समूह १ बाट इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

आजको खेलमा १ सय २५ रनको लक्ष्य न्यूजिल्यान्डले १८ ओभर एक बलमा दुई विकेट गुमाएर पुरा गर्यो ।

न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले ४०, ड्वेन कोनवेले ३६ र मार्टिन गुप्टिलले २८ रन बनाए । अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले एक–एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोड्यो ।

अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ तथा टिम साउथीले २ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *