भारतका लागि पनि अर्थपूर्ण खेलमा आज न्युजिल्यान्ड र अफगानिस्तान खेल्दै

काठमाडौँ । टि-ट्वेन्टी विश्वकपको महत्वपूर्ण खेलमा न्युजिल्यान्डले आइतबार अफगानिस्तानसँग खेल्दैछ । खेल आबुधाबीमा नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन न्युजिल्यान्डलाई यो खेल जित्नुपर्नेछ । न्युजिल्यान्ड विजयी भए भारत प्रतियोगिताबाट बाहिरिनेछ ।

अफगानिस्तान बिजयी भए न्युजिल्यान्ड, भारत र अफगानिस्तान तीनै देशको सेमिफाइनलको सम्भावना रहनेछ । यसो भएमा अर्को खेलमा नामिबियाले भारतलाई हराए न्युजिल्यान्ड र अफगानिस्तानमध्ये एक टिम नेट रन रेटका आधारमा सेमिफाइनल पुग्नेछन् । अर्को खेलमा नामिबियालाई हराए नेट रन रेटका आधारमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानमध्ये एक टीम अन्तिम ४ मा पुग्नेछन् ।

भारतले नामिबियासँग सोमबार खेल्दैछ ।

न्युजिल्यान्ड ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । अफगानिस्तान ४ खेलमा ४ अंकसहित चौथो स्थानमा छ । चारै खेल जितेको पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । भारत ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डको नेट रन रेट १.२७७, भारतको १. ६१९ र अफगानिस्तानको १.४८१ छ ।

न्युजिल्यान्ड र अफगानिस्तानबीच पहिलो पटक टि-ट्वेन्टी खेल हुन लागेको हो । न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले  पराजित भएको थियो । तर दोस्रो खेलमा भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन र नामिबियालाई ५२ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा स्कटल्यान्डलाई १ सय ३० रनले हराएको अफगानिस्तान पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै नामिबियालाई ६२ रनले हराएको थियो भने भारतसँग ६६ रनले पराजित भएको थियो ।

आजको दोस्रो खेलमा पाकिस्तान र स्कटल्याड खेल्दैछन् । पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने  स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *