के क्रिस गेलले सन्न्यास लिँदैछन् ?

काठमाडौँ । शनिबार अस्ट्रेलियासँग ८ विकेटको हार बेहोरेसँगै युएइमा जारी टी-ट्वेन्टी विश्वकपमा वेस्टइन्डिजको बिर्सनलायक प्रदर्शनको पनि अन्त्य भयो । कोभन्दा को कम शैलीका स्टार खेलाडीले भरिएको वेस्टइन्डिजलाई विश्वकपको उपाधि दाबेदारका रूपमा धेरैले हेरेका थिए ।

प्रतियोगिताको अन्तिम खेलमा ९ बलमा १५ रन बनाएर आउट भएका गेलले आउट हुँदै गर्दा ब्याट उठाउँदै बिदाइको हात हल्लाउँदै मैदान छोडे । उनी आउट भएपछि ड्रेसिङ रुमतर्फ जाँदै गर्दा हेलमेट फुकाएर ब्याट उठाउँदै सबैलाई अभिवादन गरे । सबै खेलाडीले उनीसँग अँगालो समेत हालेका थिए ।

यससँगै धेरैले गेलको सीमित ओभरको यो अन्तिम विश्वकप हो भन्ने अर्थमा बुझेका छन् । विश्वकप मात्र होइन गेलले सीमित ओभरका अन्तर्राष्ट्रिय खेलबाटै सन्न्यास लिने हुन् कि भन्ने लख पनि काटिएको छ । यद्यपि गेलले अहिलेसम्म आधिकारिक रूपमा केही बताएका छैनन् । नबताएपनि उनी अब अर्को टी-ट्वेन्टी विश्वकपमा खेल्ने सम्भावना लगभग नरहेको बताइन्छ ।

दुई पटक विश्वकप विजेता
गेल दुई पटक टी-ट्वेन्टी विश्वकप विजेता टीमको सदस्यका रूपमा रहे । गेलले वेस्टइन्डिजबाट ७९ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । यसक्रममा उनले १८९९ रन बनाए । उनको औसत रन २८.११ रहँदा स्ट्राइक रेट १३७.३१ रहेको छ ।

गेलले आफ्नो टी-ट्वेन्टी अन्तर्राष्ट्रिय करिअरमा २ शतक र १४ अर्ध शतक प्रहार गरेका छन् । उनले टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा १९ विकेट समेत लिएका छन् । उनले समग्र टी-ट्वेन्टीमा भने ४५२ खेलमा १४ हजार ३०६ रन बनाएका छन् । गेल बाहेक अन्य कुनैपनि खेलाडीले यो फर्म्याटमा १२ हजार रनको कोसेढुंङ्गा पार गर्न सकेका छैनन् ।

ब्राभोले लिए बिदाइ
२००४ मा आफ्नो करियरको सुरुवात गरेका ड्वेन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदाइ लिएका छन् । ब्राभो वेस्टइन्डिजका दिग्गज अलराउन्डरमा पर्छन् । उनले २०१२, २०१६ मा वेस्टइन्डिजले टी-२० विश्वकप जित्दा टीमका लागि महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । अस्ट्रेलियासँगको खेल उनको टी-ट्वेन्टी अन्तर्राष्ट्रियको अन्तिम खेलका रूपमा रह्यो । जुन खेलमा उनले १२ बलमा १० रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *