विश्वासको मत लिँदै मुख्यमन्त्री पाण्डे, मन्त्रालय फुटाएर बागबन्डा मिलाउने तयारी

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका छन् । बागमतीमा तेस्रो मुख्यमन्त्रीका रूपमा गत कात्तिक ११ गते नियुक्त भएका पाण्डेले सोमबार विश्वासको मत लिने एकीकृत समाजवादीकी सांसद पार्वती सिलवालले जानकारी दिइन् । संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका साथ प्रदेश सभाको बैठक सोमबारका लागि आह्वान गरिएको छ । बैठक दिउँसो ३ बजे बस्दैछ, जहाँ मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनेछन् ।

केन्द्रीय गठबन्धनअनुसार बनेको सरकारमा मा‌ओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी सहभागी छन् । सरकारका नेतृत्व एकीकृत समाजवादीको तर्फबाट पार्टीका उपाध्यक्षसमेत रहेका पाण्डेले गरेका छन् ।

पाण्डेले कात्तिक ११ गते नै ४ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरेका छन् । जसमा एकीकृत समाजवादीको तर्फबाट कृष्णप्रसाद खनाल आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका छन् । कांग्रेसका कृष्णलाल भडेल भौतिक पूर्वाधार विकासमन्त्री बन्दा माओवादी केन्द्रबाट कुमारी मोक्तान सामाजिक विकास मन्त्री बनेका छिन् ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने निश्चित छ । सभामुखसहित १०९ सिट भएको बागमतीमा गठबन्धनको मात्रै ५९ सिट छ । सरकार बनाउन ५५ सिट भए पुग्छ । यसमा मुख्यमन्त्री पाण्डेले ५९ प्रदेश सभा सदस्यकै मत पाउने छन् । ‘मुख्यमन्त्रीज्यूले विश्वासको मत पाइहाल्नुहुन्छ,’ सांसद सिलवालले भनिन्, ‘संविधानअनुरूप अगाडि बढ्नका लागि मात्रै उहाँले प्रक्रियागत रूपमा विश्वासको मत लिनु हुनुभएको हो ।’

गठबन्धनका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपासँग १ मत छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग ४३ सदस्य छन् । राप्रपा र नेमकिपासँग २–२ मत हुँदा विवेकशील साझासँग ३ मत छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएलगत्तै थप मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको एक नेताले बताए । मन्त्रालयको भागबन्डा मिलाउन पाण्डेले हालका तीन मन्त्रालय फुटाउने तयारीसमेत गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने तयारी गठबन्धनभित्र चलिरहेको एक नेताले बताए ।

हाल ८ वटा मन्त्रालय रहेको बागमतीमा अब ११ मन्त्रालय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *