रिडर्स हबमा देवकोटा चर्चा

भक्तपुर । रिडर्स हब क्याफे कौसलटारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कीर्तित्वका बारेमा चर्चा र रचनावाचन गरिएको छ । देवकोटाको ११३ औँ जन्म जयन्तीको सन्दर्भ पारेर बिहीबार आयोजना गरिएको कार्यक्रममा प्रा. सनत बस्ती, लेखक केशव दाहाल, संविधानविद् डा. भीमार्जुन आचार्य प्रा. योगेश्वर निरौला, डा. प्रदीपकुमार मैनाली, लेखक तथा पत्रकार अश्विनी कोइरालालगायतले देवकोटाका सिर्जना र त्यसले आफूलाई पारेको प्रभावका बारेमा चर्चा गरेका थिए ।

देवकोटाका सिर्जनामा साहित्यको माधुर्य मात्र नभएर जीवन र जगतको तादाम्यता र मार्गदर्शन समेत रहेकाले युग युगसम्म पनि उस्तै सान्दर्भिक हुनेबारे चर्चा गरिएको थियो । उनीहरूले देवकोटाका रचनामा कतै भौतिकवाद त कतै आध्यात्मिकता हाबी भएको पाइने गरेको र यसैलाई समालोचकहरूले आ आफ्नै ढङ्गले व्याख्या गर्ने गरेको भन्दै उहाँमा अध्यात्मको गहिरो प्रभाव भेटिने बताए ।

बस्तीले देवकोटाको वैयक्तिक जीवनका आधारमा भन्दा उनका कृतिका आधारमा विवेचना गर्नु श्रेयस्कर हुने बताए । देवकोटाले नेपाली साहित्य र समाजलाई दिएका कृतीहरूबारे अहिलेपनि पर्याप्त अध्ययन र छलफल हुनुको साटो सतही विश्लेषण मात्र गर्ने गरिएको भन्दै उनले देवकोटाका हरेक रचना जीवनका लागि मार्गदर्शक रहेको बताए । उनले देवकोटाका केही रचना पाठ समेत गरेका थिए ।

त्यस्तै आचार्यले देवकोटाको विराट काव्यिक छवि र उनका सिर्जना हेर्दा उनीभित्र अध्यात्मको अथाह प्रभाव थियो भन्ने पुष्टि हुने दाबी गरे । निरौलाले देवकोटाले १० वर्षको उमेरमा लेखेको पहिलो कविता र उनको अन्तिम रचनामा पनि ईश्वरीय चिन्तन र चेतना रहेको पाइएकाले उनलाई भौतिकवादी थिए भन्न नमिल्ने तर्क गरे ।

दाहालले आफूले सानैदेखि गाउँ गाउँमा मुनामदनको प्रभाव देखेको र पछि बुझ्ने भएर देवकोटाका गद्य र पद्य दुवै रचना पढ्न थालेपछि उनीभित्रको विशाल ज्ञान सागरभित्र आफू हराउँदै गएको सन्दर्भ स्मरण गरे । मैनालीले कुनै पनि कुरालाई कसरी लिने हो त्यस्तै पाइन्छ भन्दै देवकोटा पनि एक विराट व्यक्तित्व भएकाले भौतिकवादी वा अध्यात्मवादी जसरी लियो उनी त्यस्तै रूपमा पाइने उल्लेख गरे ।

कोइरालाले देवकोटाहरू जस्ता केही ज्ञानीका कारण हामीहरू लठुवा हुनबाट जोगिएको भन्दै नेपाली साहित्य क्षेत्रमा उनले दिएको योगदानबाट समाज साँधैभरि लाभान्वित हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *