धनगढी उपमहानगरको उदासीनताले ‘एअरक्राफ्ट म्युजियम’ बाहिरिँदै

धनगढी । साढे सात वर्षअघि धनगढीमा स्थापना भएको नेपालकै पहिलो ‘एअरक्राफ्ट म्युजियम’ धगनढीबाट बाहिरिँदै छ । बेद उप्रेती ट्रष्टका सञ्चालक क्याप्टेन बेद उप्रेतीले आज धनगढीमा पत्रकारहरूसँग भेटघाट गर्दै यसबारे जानकारी दिएका हुन् ।

जग्गा धनीसँग गरिएको सम्झौता सकिएको र धनगढीमा अन्य स्थानमा जग्गा नभेटिएपछि एअरक्राफ्ट बाहिर लैजान लागिएको उनले बताए । ‘धनगढी उपमहानगरपालिका र प्रदेश सरकारले पनि यसबारे कुनै चासो दिन नसकेपछि एअरक्राफ्ट म्युजियम धनगढी बाहिर लिन लागिएको हो,’ उनले भनेका छन् ।

क्षेत्रीय रंगशाला पछाडि साढे सात वर्षअघि पाँच वर्षका लागि भनेर एअरक्राफ्ट म्युजियम स्थापना भएको थियो । कोरोना कहरका कारण एअरक्राफ्ट दुई वर्षसम्म रहेको हो ।

पर्यटकका लागि आकर्षक केन्द्र मानिएको एअरक्राफ्ट म्युजिम अन्यत्र सार्नका लागि धनगढी उपमहागनरपालिकासँग पनि ट्रष्टले कुरा अगाडि बढाएको थियो ।

उपमहानगरपालिकाले सुरुवातमा धनगढी पार्कमा एअरक्राफ्ट राख्न दिने व्यवस्था गर्ने बताए पनि अन्तिममा पछि हटेको ट्रष्टका सञ्चालक क्याप्टेन उप्रेतीले बताए । ‘उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडसँग एअरक्राफ्ट धनगढी पार्कमा राख्ने व्यवस्था गर्नका लागि कुरा राखेको थिएँ,’ उनले भने, ‘उहाँ सहमत पनि हुनुभयो । बोर्डले पार्क उपलब्ध गराउने निर्णय पनि गर्‍याे । तर अन्तिममा सम्झौता गर्ने बेला भने उहाँ पछि हट्नुभयो । किन पछि हट्नुभयो मलाई थाहा छैन ।’

धनगढी उपमहानगरपालिकाले धनगढी पार्कलाई यसअघिनै ठेक्कामा लगाएको छ । जुन पार्क व्यवस्थित पनि छैन । क्याप्टेन उप्रेतीकाअनुसार एअरक्राफ्ट राख्ने विषयमा पार्क ठेक्का लिएका व्यक्ति पनि सहमतिमै आएको अवस्थामा धनगढी उपमहानगरपालिकाका मेयर वड भने पछि हटेका हुन् ।

धनगढीबाट ‘एअरक्राफ्ट म्युजियम’ राख्ने स्थान नभेटिएपछि प्रदेश नं. ५ को नेपालगञ्ज वा यही प्रदेशको महेन्द्रनगरमा सारिने क्याप्टेन उप्रेतीले बताए । ‘महेन्द्रनगरमा आफ्नै जग्गामा अर्को म्युजियम पनि छ, जग्गा पनि भएकाले त्यहाँ पनि राख्न सक्छौं’ उनले भने, ‘नेपालगञ्जका मेयर धवलसिंह राणाले पनि यतै ल्याउनुपर्‍याे भनेर लागिरहनुभएको छ । नेपालगञ्जमै लैजान सकिने बढी सम्भावना छ ।’

नेपालगञ्ज उपमहागनरपालिकाले एअरक्राफ्टका लागि निःशुल्क जग्गा र थप लगानी पनि सहयोग गर्ने प्रतिबद्धता जनाइरहँदा धनगढी उपमहानगरपालिकाले जग्गा पनि उपलब्ध गराउन नसक्नु दुखद् भएको क्याप्टेन उप्रेतीको भनाइ छ । पर्यटन प्रवर्द्धनमा टेवा पर्‍याउने क्षेत्रलाई बाहिर जान नदिनुपर्ने अवस्थामा सामान्य सहयोगसमेत नभएको उनको गुनासो छ ।

||धनगढीमा स्थापना भएको नेपालकै पहिलो ‘एअरक्राफ्ट म्युजियम’। तस्बिर: अंकुश कुँवर/मकालुखबर||

केही व्यक्तिहरूले निजी जग्गा उपलब्ध गराउँछु भनेका भएपनि त्यो दीर्घकालसम्मका लागि नहुने उनले बताए । अबको डेढ महिना भित्रै एअरक्राफ्ट म्युजियम धनगढीबाट हटिसक्ने क्याप्टेन उप्रेतीले बताए । यद्यपि उनले उपमहानगरपालिकाले आजभोलिनै पार्क जग्गा उपलब्ध गराउन सके धनगढी बाहिर नलैजानेसमेत बताएका छन् ।

साथै उनले यो एअरक्राफ्ट म्युजियम अहिले धनगढी बाहिर गए पनि धनगढी उपमहानगरपालिकाले पछि जग्गा उपलब्ध गराएमा यो भन्दा पनि राम्रो एअरक्राफ्ट म्युजियम बनाउन आफू तयार रहेको बताए ।

धनगढीकै बासिन्दासमेत रहेका उप्रेतीले २०७० मा कस्मिक एयरको पुरानो फोकर–१०० ग्राउण्डेड विमान धनगढी ल्याएर एअरक्राफ्ट म्युजियम स्थापना गरेका थिए ।
सुदूरपश्चिमका पर्यटकीय महत्त्वपूर्ण स्थलहरू, यहाँको कलासंस्कृति तथा आधुनिक प्रविधिबाट ‘क्यानभास प्रिन्ट र फ्रेमिङ’ भएका तस्बिरहरूसमेत संग्राहलयमा राखिएका छन् ।

पर्यटकका लागि आकर्षक केन्द्र मानिएको धनगढीकै मुटुमा रहेको म्युजियम बाहिरिने भएपछि यहाँको पर्यटन विकासमा केही असर पर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *