बाहिर लुटैलुट, भित्र गुटैगुट

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरूकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै निरंकुशशास्त्रको पीएचडी हासिल गर्नु नै रहेको अन्तिम तथ्य नेतृत्वले हेक्का नराख्नु नै हो । ७ सालको क्रान्तिपछि शक्तिविहीन राजालाई बिजुली गारत नामको सैनिक टुकडी ‘टिप्स’ नदिएको भए लोकतन्त्रवादी नेताहरुको त्यो हविगत हुने नै थिएन ।

सात सालदेखि ०१४ साल अर्थात् सुन्दर लक्की सेभेन हुनुपर्ने नेपाली राजनीतिको कालखण्ड ‘अनलक्की’ श्रृंखलामा बित्यो ।

राजा भर्सेज नेताको युद्ध शुभारम्भ यो सानो भूलबाट भयो । राणा निस्तेजपछि फेरि प्रधानमन्त्री बनेका मोहन शमशेरले बीपीलाई सम्झाउँदै भनेका थिए– ‘बीपी बाबु, तपाईंहरू पढे/लेखेका देश विदेश खाएका भए पनि देश चलाउने विषयमा तपाईंभन्दा म अनुभवी छु । मैले भनेको मानेर बिजुली गारत दरबारबाट झिकौँ । कालान्तरमा तपाईँहरूलाई यही गल्तीले पिरोल्नेछ ।’ आखिर भयो त्यस्तै ।

०७ सालदेखि ०१४ साल अर्थात् सुन्दर लक्की सेभेन हुनुपर्ने नेपाली राजनीतिको कालखण्ड ‘अनलक्की’ श्रृंखलामा बित्यो । त्रिशंकु खेलकुदले राजनीतिलाई दाउपेचमा अनुवाद गर्योह । त्यो बेला पनि राजनीतिमा कुखुरा चोरहरूको हालीमुहाली चल्यो । दाजुभाइ फुटाएर कांग्रेस ध्वस्त पार्न जनताका नेता मातृकाप्रसाद कोइरालालाई मानार्थ सेनाको जर्नेल बनाएर सैनिक पोशाकमै सार्वजनिक गरियो ।

०११ सालमा युवा राजा महेन्द्रको उदयसँगै समवयी राजा-नेताबीच शक्ति संघर्ष चल्यो । एकथरि नेता र अर्काथरि राजा उचाल्ने प्रतिस्पर्धा गर्न थाले । अनपेक्षित पात्रहरू केन्द्रीय राजनीतिमा हावी भए । बीपीका विश्वासपात्र चोर्ने रणनीतिमा राजा महेन्द्र पर्दा पछाडि खेल्न थाले । अनेकौँ दबाबबीच २०१५ सालमा चुनाव भयो ।

बीपी नेतृत्व सरकारले दुई तिहाई मत हासिल गरेर शक्तिशाली सरकार बनायो । बीपीमा जनमतको अहम्, राजामा वंशाणुगत राजाको दम्भ । अन्ततः कहिले राजा बोकेर नेता र नेता बोकेर राजा हान्ने रणनीतिमा रहेका जवाहरलाल नेहरुले राजालाई काँध थापेर दुई तिहाईको काँचको घरमा घन हाने । लोकतन्त्रको घर भत्कियो । जनमतले बनेकै भरमा लोकतन्त्र बलियो हुन्छ भन्ने मिथ्या हो भन्ने योभन्दा निर्मम दृश्य अरु के हुन्छ र ?

पदमा नपुगेसम्म नारीले आफूलाई नारीको कोटीमा राखे । पद पाएपछि जुँगामुठे पुरुषको दम्भ पाले ।

त्यही जगमा राजाले पञ्चायत नामको घर बनाए । त्यो घर पनि राजाको डिजाइनअनुसार बनेन । राजाको भिजनले आफ्नै व्यवस्थामा न्याय पाएन । बरु राजालाई अकबर बादशाहजस्तो मूर्ख बनाएर दाइँ गर्ने पात्रहरुको उदय भयो । त्यो श्रृंखला आजका मितिसम्म सक्कल बमोजिम नक्कल बनेर उपस्थित छ ।

धेरै कालखण्डपछि प्राप्त गणतन्त्र ‘भूईंमा न भाँडामा रित्ता डाँडामा’ प्रमाणित हुनु पछाडिका प्रमुख कारण पनि यिनै हुन् । नेताहरूले राजाको विरोध गरे, तर राजा महाराजको विलासिता मस्तिष्कमा बोके । पदमा नपुगेसम्म नारीले आफूलाई नारीको कोटीमा राखे । पद पाएपछि जुँगामुठे पुरुषको दम्भ पाले ।

गणतन्त्रको रक्षक मानिएका नेताहरूका गतिविधिप्रति जसले खबरदार गर्योव, उसलाई महाशत्रु घोषणा गर्ने परम्परा बीजारोपण गरियो । गणतन्त्रको सर्वोच्च शिखर मानिएको राष्ट्रपतिलाई अप्रिय बनाउन गणतन्त्रकै शिल्पी टुप्पी कसेर लागिपरेका छन् । यस्तो स्वतन्त्र र सचेत समाजको आकलन नगरी राष्ट्रपतिलाई जताततै खेताला बोलाउने जिम्मा कसैले लिनुपर्दैन । ठूला मानिसलाई राजस्व तिरेर सुविधा किन दिइएको हुन्छ भने उनीहरूले फेरेको श्वास पनि देश हितमा हुन्छ भन्ने मान्यता जीवित राख्न हो । जब देशको सर्वोच्च भनिएकै निकाय हेलिकोप्टरबाट कोदोबारी निरीक्षण, मन्दिर दर्शन, डाँडापाखा निरीक्षण, लिफ्ट उद्घाटन, स्कुलको वार्षिकोत्समा लाखौँ खर्च गरेर पुग्छ भने त्यो व्यक्ति र व्यवस्था दुवैको दुरुपयोग हो ।

कानुन मिचेर भावनाको निर्णय गर्दा त्यो बेथितिको सञ्चयकोष भएर रहिरहन्छ । त्यसले अन्ततः डस्ने आफैँलाई हो । हिजो यस्तै खेलाँची गर्दा राजा दरबारबाट खँदारिए । बीपी, गणेशमानसिंह, कृष्णप्रसाद, गिरिजाप्रसाद कहाँबाट कहाँ पुर्यासइए ? जिन्दगी नै कांग्रेसको बलिवेदीमा होमेका गणेशमान सिंह, कृष्णप्रसादजस्ता महापुरुषको उत्तरार्द्ध सकसै सकसमा बित्यो ।

सत्तामा हुँदा लुटैलुट र सत्ता बाहिर गुटैगुटको प्रलापमा यी महान् आत्माहरू अटाउन सकेनन् । व्यवस्था फेरियो, पार्टी फेरियो, व्यक्ति फेरिए‚ तर राजनीतिको कोर्स उही छ । किताबको एउटा च्याप्टर फेर्ने साहस कसैले गरेन । बरु व्यक्तिगत स्वार्थको दाउलाई व्यवस्थासँग जोडियो । मुलुकका कार्यकारी र संवैधानिक निकाय पूरै बद्नामी चक्रव्यूहमा फसेका छन् । कहिले लोकमानसिंह कार्की त कहिले चोलेन्द्रशम्शेर राणाका नाममा सडकभरि रमिता हुन्छ । तर तिनीहरुलाई फलाउने फुलाउने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीजस्ता पात्रहरू गड फादर भएर पुजिइरहन्छन् ।

गफको विकल्प काम हुनुपर्नेमा गफको ठाउँ महागफले लिइरहेको छ । राष्ट्रपतिदेखि वडा सदस्यसम्मको दैनिकी भाषण र घुमफिरमा बित्ने गरेको छ । देशका विमानस्थल भीआईपी नै भीआईपीको लर्कोले भरिएको छ । कोही कसैलाई फुर्सद छैन । बेफुर्सदी कामको नभएर गफको हो । प्रचण्ड मुलुकको दुईपटक कार्यकारी सरकार प्रमुख भए । अहिले पनि गठबन्धन सरकारको जिम्मावाल छन् । यद्यपि क्रान्तिको धमास दिन छाड्दैनन् । पूँजीवादी, दलाल, प्रतिक्रियावादीजस्ता अर्मूत शब्दको बेमिसाल आक्रमण तीव्र छ ।

केपी ओलीसँग हिसाबकिताब बिग्रिएपछि त उनमा अर्कै भूत चढेको छ । प्रचण्डले विद्रोह जन्मिन्छ भन्नु विप्लवले निशाना मिलाउनुको तादात्म्य के हो‚ त्यो त तिनै दुई पात्र या भगवान जानून्‚ तर यो कहिल्यै नसकिने कम्युनिष्ट क्रान्ति के हो ? दमले छियाछिया पारेको ज्यान लिएर हिँडिरहेका मोहन वैद्यलाई पनि क्रान्तिको नशाले छाडेको छैन ।

राज्यसत्तामा टेन्डर नपरेका हरेक कम्युनिस्टको नशामा क्रान्ति अधुरो छ । क्रान्ति, लोकतन्त्र या गरीब जनताको हवाला दिए पनि यी सबै आवरण लुट्न नपाएको आक्रोश सिवाय केही होइन ।

मुलुकमा भएका ‘टपटेन अपराध’मा टपटेन नेता या तिनका परिवारका सदस्यको नाम जोडिएको खबर सार्वजनिक हुन्छ । नेताहरूले जन्माएका सन्तान अहिले अपराध कर्मका जननी भएर बसेका छन् । कोही कलमको ह्रस्व‚ दीर्घ, तर्कुले, कान्दानी, बाइमात्रा, किन्तु, परन्तु मिलाएर मार्ने त, कोही खुँडा, खुकुरी उध्याएर मार्ने । आखिर मार्नेमा सबैको सहमति छ ।

बिनापूर्वाग्रह भन्ने हो भने‚ नेपालका कम्युनिष्टहरू चरम विलासी बन्दै गएका छन् । राजनीतिक समानता उनीहरूको राजनीतिक प्राण भए पनि व्यक्तिगत सम्पति आर्जनमा उनीहरूको ध्याउन्न दिन दुईगुना, रात चारगुनाको दरले बढ्दो छ । पाखण्ड छोप्ने जामा नलगाउने हो भने अधिकांश सर्वहारा वर्गका नेता तथा कार्यकर्ता राजधानी बासिन्दा भएका छन् । काठमाडौँको केन्द्रीकृत अधिकार जनताको ढोका-ढोकासम्म पुगोस् भन्ने कसैको इमान्दार प्रयास छैन ।

संघीयता त महत्वाकांक्षी कार्यकर्तालाई जागिर लगाउन खोलिएको भर्तीमात्र हो । जसले हजारौँ कार्यकर्ताको मुखबुजो लगाएको छ । डाइनोसर हुन लागेको माओवादी एमालेको वैतरणी तरेर आएपछि एकाएक दाउपेचको हात्ती बन्यो । ओलीलाई सत्ताबाट ओरालेपछि प्रचण्ड उँडी उँडीको मनोविज्ञानमा छन् । लोकसेवा लड्न नपर्ने, एक समय गरेको त्याग सधैँ एटीएम कार्डको रुपमा प्रयोग गरेर फाइदा लिइराख्न मिल्ने डेट एक्सपायर नहुने राजनीति गज्जब उद्यम बनेको छ ।

आफ्ना परिवारका तीनपुस्ते, नोकरचाकर, चण्डमुण्ड, ढोके, हुक्के सबैलाई व्यवस्थापन गर्न मिल्ने यस्तो पोषणयुक्त संघीय गणतन्त्र विश्वमै छैन होला । यदि यो अभिष्टमा कोही भिलेन भएको भान भयो भने गणतन्त्रमाथिको प्रहार भनेर काँचो खरमा आगो लगाउन मिल्ने सुविधा पनि यस भूमिको गणतन्त्रले दिएको छ । जसरी टोलटोलमा पुगेर जातका नाममा राज्य बाँड्ने आश्वासन बाँड्दा त्यसको प्रहारले अहिलेसम्म नेताहरूलाई ऐँठन हुने गरेको छ ।

त्योसँग यो तुलना हुँदैन । किनभने यो राज्यको संयन्त्रमा बसेर गरिएका कर्म हुन् । जसको जवाफदेहिता रहिरहन्छ । यो कर्म हो कि कुकर्म त्यसको भेद पनि नियतिले छुट्याउँछ ।

अब नेपालमात्र नभएर विश्व सबैको साझा हो । मानवताविरोधी अपराधको भागी संसारको जुनसुकै देशमा गएर भुक्तान गर्नुपर्छ । सत्ता र शक्तिका भरमा दुईचार दिन चुरीफुरी गरेर आफूलाई राज्य सम्झिने दिन उहिल्यै अन्त्य भए । गठबन्धन दलका लागि सत्तायात्रा मनपरी गर्ने लाइसेन्स नभएर फुकी फुकी पाइला चाल्ने म्यान्डेट हो । त्यसैले यसका क्याप्टेनहरू सरकारी जहाज उडाउँदा र बसाउँदा गम्भीर हुन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *