अन्तर्वार्ताः

१० बुँदेकै आडमा एमालेमा रह्यौँ, वैचारिक संघर्ष गरेर यहीँ रहन्छौँ : अष्टलक्ष्मी

काठमाडौँ । अष्टलक्ष्मी शाक्य कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर आलोचक थिइन् । एमालेकै उपाध्यक्ष रहेकी शाक्यले ओलीलाई ‘लोकतन्त्रलाई सुहाउने नेता नै होइन’ भन्नसमेत पछि पर्दिनथिन् ।

तर समयले शाक्यलाई फेरि एकपटक ओलीकै पक्षमा पुर्‍याएकाे छ । वर्षौँदेखि आफू रहेकाे माधवकुमार नेपाल समूहलाई छोडेर शाक्यले एमालेमै रहने निर्णय गरिन् । उनी गत भदौ २ गते एमालेकै कोटाबाट बागमती प्रदेशकी मुख्यमन्त्री बनिन् ।

पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले अर्को पार्टी बनाउँदा शाक्यसहित १० जना नेता एमालेमै रहे । उनीहरू असार २७ गते बनेको १० बुँदे सहमतिको प्रस्तावनाको आडमा एमालेमा रहेका थिए । तत्कालीन विवाद मत्थर बनाउन सञ्जीवनी बुटीकै काम गरेको ठानिएको १० बुँदे कार्यान्वयन गर्ने कुरामा अहिले एमालेभित्र देखिन्छ ।

अध्यक्ष ओलीले ‘१० बुँदेलाई हल्का रूपमा व्याख्या गरेको’ भन्दै उनीहरू रुष्ट बनेका छन् । यसमा अर्का उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरूले बढी असन्तुष्टि जाहेर गर्दै आएका छन् । रावलले त १० बुँदे कार्यान्वयनको संयोजकबाटै राजीनामासमेत दिएका छन् ।

त्यसो त मुख्यमन्त्री बन्न माधव–झलनाथ समूह छोडेकी शाक्यले पनि १० बुँदेको कार्यान्वयन नभएको ठान्छिन् । यद्यपि आफूहरू एमालेमै रहने र वैचारिक संघर्ष गर्नेमा भने उनी ढुक्क छिन् । केन्द्रीय राजनीतिमा देखिएको उथलपुथलका कारण २ महिनामै मुख्यमन्त्री पद गुमाएकी शाक्य अब एमालेमै रहने र जस्तोसुकै संघर्ष गर्न पनि तयार छिन् । शाक्यसँग मकालुखबरकर्मी धनबल राईले गरेको कुराकानी प्रस्तुत छ ।

OOO

१० बुँदे कार्यान्वयन हुने कुरामा भर परेर एमालेमै रहने निर्णय गर्नुभयो, तर त्यहीबारेमा फेरि विवाद शुरू भएकाे छ । मुख्यमन्त्री बन्नु त भयो तर हटिहाल्नुपर्‍याे, अहिले कस्तो लाग्छ तपाईंलाई ?
हिजोदेखि राजनीतिक रूपमा भएका घटनाहरूलाई स्वीकार्दै नै आएका हौँ । अहिले यसो हुनुमा कुनै अनौठो लागेको छैन । एउटा राजनीतिज्ञले यसलाई स्वीकार्ने धीरता पनि राख्नुपर्छ र त्यो मैले राखेँ पनि । तर, दुःख यहीँनेर लाग्छ कि— हिजो हामी केका लागि लडेका थियौँ, त्यो कतै पछाडि छोड्यौँ ।

तपाईं मुख्यमन्त्री बन्नका लागि एमालेमै रहनुभयो जस्तो देखियो, अहिले पदविहीन हुँदा कस्तो महसुस गरिरहनुभएको छ ?
पहिलो त कुरा त म मुख्यमन्त्री बन्नकै लागि एमालेमा रहेको होइन, यसमा प्रष्ट हुनुपर्छ । मलाई त लाग्थ्यो कि— सबै मिलेर समृद्ध प्रदेश, समृद्ध देश र समृद्ध नेपाली समाज बनाउने भनेर । त्यो गर्न सकिएन । अझै पनि यी समृद्ध सपनाका लागि सबै दल, सबै समाज र सबै मान्छेहरू एक ठाउँ नउभिइकन केही पनि हुँदैन । मेरो लागि पद केही होइन, समृद्ध समाजको मानचित्र मेरो दिमागमा छ । यहाँसम्म पुग्न के गर्न सकिन्छ भनेर सोचिरहेकी छु । अबको राजनीतिक यात्रा खाली यसकै लागि हुनेछ ।

तपाईं अलि पहिलेसम्म त अध्यक्ष केपी शर्मा ओली अलोकतान्त्रिक रहेको भन्दै चर्को आलोचना गर्नुहुन्थ्यो । अब तपाईंहरूको पक्षमा वरिष्ठ नेताहरू पनि एमालेमा हुनुहुन्न, अब एमालेमै अध्यक्षसँग मिलेर बस्न सक्नुहोला ?
एमाले भनेको हामीले बनाएको पार्टी हो । मैले भन्दै आएकी छु । एमाले भनेको केपी ओलीले बनाएको पार्टी नै होइन । मैले अहिले पनि भन्छु, साँचो कुरा गर्न डराउनु पर्दैन । जतिबेला एमाले बन्दै थियो, संगठनात्मक रूपमा आकार लिँदै थियो । त्यत्तिबेला उहाँ (ओली) त जेलमा हुनुहुन्थ्यो । त्यत्तिबेला त माधव कमरेड, झलनाथ कमरेडहरू नै हुनुहुन्थ्यो नि । अनि हामी नै थियौँ नि । हामीले बनाएको पार्टी छोडेर हामी कहीँ जाँदैनौँ । हामी यही रहन्छौँ । हाम्रो पार्टी एमाले हो । हामी एमालेका सन्तानहरू हौँ ।

ओलीसँग पार्टीभित्रै बसेर भिडेर सकिँदैन भनेर माधवकुमार नेपाल–झलनाथ खनालहरूले अर्को पार्टी बनाउनुभयो, उहाँहरू पनि नहुँदा तपाईंहरू एमालेमै भिडेर बस्न सक्नुहोला त ?
प्रष्ट भन्छु, हामी एमालेमै रहन्छौँ । बरु हामी वैचारिक संघर्ष गर्छौँ, सैद्धान्तिक संघर्ष गरिरहनेछौँ । तर, आफूले बनाएको पार्टी छोड्दैनौँ । त्यो हामी सबैको पार्टी हो । अध्यक्षको बारेमा मैले पहिले पनि बोल्दै आएको हुँ । कुरा त्यहीँ नै हो । हामी पार्टी छोड्दैनौँ । हाम्रो पार्टी यही हो ।

१० बुँदेलाई लिएर नेताहरू असन्तुष्ट बन्दै आउनुभएको छ, यसमा तपाईंको धारणा के छ ?
साँचो कुरा भन्नुपर्छ, हामी १० बुँदेमै टेकेर एमालेमै रहेका हौँ । यसको कार्यान्वयन केही ठाउँमा भइरहेकै पनि छ । तर सोचेजस्तो भएको छैन । त्यसो भन्दा फेरि आत्तिहाल्ने कुरा पनि छैन । अब पार्टीमै संघर्ष गरेर बस्नुको कुनै विकल्प छैन । माधव कमरेडले वर्षौंदेखि आफैँले बनाउनुभएको पार्टी छोडनुभयो । मैले त उहाँलाई भने पनि ‘तपाईं फर्किनुस्’ भनेर भनेँ । तर, अब उहाँ कहिल्यै फर्किनुहुन्न । मैले पार्टीकै लागि भनेर ०३६ सालमा घर छोडेँ । तर, अहिले यी संगठन, नेताहरू, नेताहरूका आनीबानी, एकतिर समृद्ध राष्ट्रको सपना, राजनीतिक उतारचढाव देख्दा साँच्चै नै निराश हुन्छु ।

१० बुँदे सहमतिको प्रस्तावना पूर्णरूपमा कार्यान्वयन भएन भने तपाईंहरू फेरि एकीकृत समाजवादीतिर जानुहुन्न ?
त्यो आलाकाँचाले गर्ने राजनीति हो । कमसेकम म चाहिँ त्यसो गर्दिनँ । म त माधव कमरेडलाई अझै आउनुस् भनिरहेको छु । मैले भनेँ नि— मेरो पार्टी एमाले हो । म एमालेमै आजीवन रहन्छु ।

उसोभए तपाईं जस्तोसुकै संकट आएपनि पार्टी छोड्नुहुन्न, नेतृत्वकै विरुद्ध विद्रोह गर्नुहुन्छ ?
अँ ! कुरा त्यसै हो । जे होस्, पार्टी छाडिँदैन । पार्टीमा संघर्ष चल्छ त्यो फरक कुरा हो । संघर्ष गरिन्छ र पार्टीमै बाँचिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *