मुख्यमन्त्री आचार्यद्वारा राजीनामाको घोषणा

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन् । आफ्नै नेतृत्वको सरकारलाई जनताले चाहेको बताएका आचार्यले जनताको चाहना र संसद्को अंकगणितबीच फरक रहेकोले राजीनामा दिएको घोषणा गरेका छन् ।

जतिसुकै जनभावना भएपनि अंकगणितले काम गर्ने भएकोले जनताको चाहना आफ्नै नेतृत्वको सरकार रहेको भएपनि संसद्को संख्या फरक रहेकाले राजीनामा दिए । आफ्नो पार्टी अल्पमतमा रहेकोले राजीनामाको घोषाणा गरेका हुन् ।

संघीयता कार्यान्वायनमा जाँदै गर्दा लोकतान्त्रिक दलहरूका बीचको प्रतिस्पर्धाबाहेक कुनै समस्या थिएन । नागरिकको अवस्था र समस्याको बारेमा केन्द्रित हुनुपर्नेमा सत्ताको लुछाचुँडीमा लागेको आरोप आचार्यको छ । उनले सत्ताको लुछाचुँडी हुनुलाई संविधानविपरीतका अध्यादेश भएको उनको ठम्याइँ छ । ‘अध्यादेशमा ४० बाट २० प्रतिशतमा झारेर अध्यादेश आयो,’ उनले भने, ‘त्यो अमर्यादित अध्यादेश थियो । एउटा पार्टी फुटाएपछि फेरि अध्यादेश खारेज गरेर पुरानै अवस्थामा पुगेकोले कांग्रेस सरकारले नैतिकता गुमायो ।’

गत असोज २५ गते विश्वासको मतका लागि प्रस्ताव दर्ता गरिएको भएपनि जनताको माग यही सरकार र कामको चाप रहेकोले अहिलेको अवस्थामा आएको बताए । ‘जनताको माग अहिलेको सरकार हो । तर संसद्को अंकगणित अर्काेतिर छ,’ उनले भने, ‘जनताको लागि काम गर्नुपर्ने अवस्थामा लडाइँ झगडा गरेर विकास हुँदैन । आफू अग्लो हुन काम गरेर देखाउनुस् । तर, टुटाएर फुटाएर त्यहाँसम्म जानु भनेको दलीय मर्यादाविपरीत हो ।

उनले राजनीतिक संस्कार र पद्वति विकास गरेर जानु नै सबैको भलो हुनेसमेत बताएका छन् । बलियो प्रदेश र बलियो सरकार बनाउने काममा यो सरकारले महत्त्वपूर्ण काम गरेको आचार्यको दाबी छ । आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम थालेको भन्दै १ वर्षमा २५ अर्ब राजश्व उठाउनेगरी कार्यदल बनाएर काम शुरू भएको आचार्यले बताए । आफ्नो कामको फेहरिस्त सुनाएका आचार्यले यातायात कार्यालयमा अनलाइन सेवा संचालन, प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश पर्यटन बोर्ड गठन, बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत दिने काम भएको सुनाए ।

प्रदेश नं. १ मा नेकपा एमालेको बहुमत र नेकपा हुँदा दुईतिहाइ प्रदेश सांसद रहेको थियो ।

प्रदेश सभाममा कायम रहेको ९२ जना संसदमध्ये एमालेको सभामुखसहित ४१, नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जसपा ३ सांसद, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ जना र राप्रपाको १ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *