प्रदेश १ मा कांग्रेसले छाड्ला मुख्यमन्त्री ?

विराटनगर । प्रदेश १ को सत्ता समीकरण कसरी अघि बढ्छ यसै भन्न सक्ने अवस्था छैन । सबै प्रदेशमा नेकपा एमालेको सरकार ढलिसकेको छ । बाँकी रहेको प्रदेश १ मा नेपाली कांग्रेसभित्रको आन्तरिक कलहका कारण अहिलेसम्म सरकार बन्न सकेको छैन ।

गत कात्तिक ७ गते दिउँसो १२ बजेको प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कुरा थियो । त्यो दिन सत्ता बाहिरबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक कारण देखाउँदै प्रदेश सभाको बैठक स्थगित गर्न सभामुखलाई आग्रह गर्‍यो । कांग्रेसको निवेदनलगत्तै सत्तापक्ष नेकपा एमालेले पनि बैठक स्थगन गर्न माग गर्दै १५ गतेसम्मका लागि निवेदन दियो । त्यसैको आधारमा प्रदेश सभामा विश्वासको मत लिने दिन लम्बिँदै गएको छ ।

नेकपा एमाले विभाजन भएसँगै अल्पमतमा परेको भीम आचार्य नेतृत्वको सरकारले विश्वासको मतका लागि असोज २५ गते प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएको थियो भने कात्तिक ५ गते प्रदेश सभामा विश्वासको मतका लागि आचार्यले प्रस्ताव टेबुल गरिसकेका छन् ।

यस्तो अवस्थामा आचार्यलाई विश्वासको मत पाउनका लागि ४७ जना सांसद आवश्यकता पर्छ । ४७ जना सांसद पुर्‍याउनका लागि अहिले आचार्यको पार्टी नेकपा एमाले लागिपरेको छ । उनको पार्टीकै मात्र सांसद संख्याले नपुग्ने भएपछि अहिले आचार्य कसरी हुन्छ अरु दलका सांसद आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

नेकपा एमालेका नेता तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारीले कांग्रेससँग सरकार बनाउन जस्तोसुकै सहमतिका लागि तयार रहेको बताउँदै आएका छन् । मकालुखबरसँग कुरा गर्दै मन्त्री तिवारीले अन्य दलहरूसँग जस्तोसुकै सहकार्य गरेर जानका लागि पनि एमाले तयार रहेको बताए ।

कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि कुनै समस्या नभएको बताएको एमालेले तत्कालीन अवस्थामा छलफलका लागि सबै ढोका खुला रहेको जनाएको छ ।

कांग्रेस एमाले समीकरण सम्भावना कति ?
कात्तिक ७ गतेको सदन स्थगनपछि एमाले र कांग्रेसबीचको सत्ता समीकरणको कुरा प्रदेश १ मा चलेको छ । कांग्रेसका सांसदले फ्लोर क्रस गर्ने भन्ने कुरा आएपछि यो विषय थप चर्चामा आएको हो । यसबाट अन्य विपक्षी गठबन्धन दलका नेता सशंकित भएका छन् ।

नेकपा एमालेको संख्या अहिले ४१ हो‚ जसमा एकजना सभामुख र एकजनालाई फौजदारी अभियोग लागेकाले देखिने संख्या ३९ हो । प्रदेश १ मा एमाले ठुलो दल हो । त्यसपछिको ठुलो दलको रुपमा नेपाली कांग्रेस नै रहेको छ । नेपाली कांग्रेसको २१ जना सांसद रहेका छन् भने तेस्रो दलको रुपमा नेकपा माओवादी केन्द्रका १५ जना सांसद छन् ।

चौथो दलको दलको रुपमा उदाएको नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् । साना दल जनता समाजवादी ३, राप्रपा १ र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चको १ जना सांसद छन् ।

यो अवस्थामा पहिलो ठुलो प्रतिपक्ष दलको रुपमा पनि नेपाली कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने यसअघि नै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भन्दै आएका छन् । मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने माग राख्दै आएका कोइरालाकै कारण सत्ता समीकरण हेरफेर हुने हो कि भन्ने आकलन अन्य दलका नेताले गरेको देखिन्छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार विराटनगर विमानस्थलमा भनेको कुरालाई आधार मान्ने हो भने उनले प्रदेश १ को एकलौटी नेतृत्व राजेन्द्र राईले गर्ने र आधा-आधा कार्यकाल बाँडफाँड नहुने बताएका छन् । उनको यो भनाइले कांग्रेसलाई मुख्यमन्त्री दिने सम्भावना देखिँदैन । त्यसको कारण भनेको नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला देउवा लाइनको नहुनु हो ।

मन्त्रीहरूमा सबै कुरा मिल्ने देखिए पनि मुख्यमन्त्री आधा-आधा कार्यकालको कुरा अहिलेसम्म प्रदेश १ मा देखिएको छैन । नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले गठबन्धन एक ठाउँमा रहेको भएपनि सरकारको नेतृत्व कसले बनाउने भन्नेबारेमा आधिकारिक कुनै जानकारी नआएको बताएका छन् ।

‘नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने भन्ने हल्ला मिडियाबाट सुनिनमा आएको छ,’ उनले भने, ‘आधिकारिक रुपमा मलाई सभापतिज्यूले भन्नुभएको छैन, लिखित जानकारी पनि आएको छैन ।’ सभापति शेरबहादुर देउवा विदेश गएकाले पार्टीभित्र गर्नुपर्ने धेरै निर्णयहरू बाँकी रहेको र थप छलफल गर्दै जाने कोइरालाले बताए ।

अहिलेको अवस्थामा प्रदेशमा गठबन्धनभन्दा बाहिर जाने अवस्था नरहेकाले नेकपा एस नेतृत्त्वलाई स्वीकार गरेर जाने कोइरालाको दाबी छ ।

प्रदेश १ को राजनीतिले केन्द्रको गठबन्धन भत्किने डरले कांग्रेस गठबन्धन बाहिर जान सक्ने अवस्थामा छैन । स्रोतले दिएको जानकारीअनुसार, मुख्यमन्त्रीका लगि राजिव कोइरालालाई एमालेले प्रस्ताव गरेको छ । अबको बाँकी कार्यकालका लागि पहिलो मुख्यमन्त्री राजीव कोइरालालाई दिने र आधा आधा कार्यकाल गर्ने वा भीम आचार्यले अहिलेकै अवस्थामा थप ४ महिना मुख्यमन्त्री चलाएर बाँकी कार्यकाल कांग्रेसका नेता राजिव कोइरालालाई दिने प्रस्ताव एमालेले कांग्रेस समक्ष गरेको स्रोत बताउँछ ।

यस्तै अवस्था हो भने गठबन्धनबाट कांग्रेसले एमालेलाई सघाउने वा संयुक्त सरकार बनाउन सक्ने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए । कांग्रेसभित्रबाट चौथो सानो दल तथा जुनियर भएकाले पनि नेकपा एसका नेता राईलाई स्वीकार गरेर जाने नजाने भन्ने बारेमा पनि छलफल भएको नेपाली कांग्रेसका एक नेताले बताए ।

विश्वासको मत लिने
नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री भीम आचार्यले सोमबार (कात्तिक १५ गते) विश्वासको मत लिने बताउँदै आएका छन् । कांग्रेसको आँत बुझेका आचार्यले विश्वासको मत पाउने दाबी गरेका छन् । यसअघि कांग्रेसका सांसदले फ्लोर क्रस गरेर आचार्यलाई मतदान गर्ने देखेपछि कांग्रेसले १ दिन सदन स्थगनको निवेदन दिएको थियो । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले विराटनगरमा भएको एक कार्यक्रममा १७ गतेसम्ममा आफ्नो नेतृत्त्वको सरकार बन्ने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *