जोखिमयुक्त मनाङ यात्रा : कच्ची सडक, काठका पुल

पोखरा । सानो वर्षा हुने बित्तिकै बिग्रिहाल्छ, मनाङको बाटो । भीमकाय भीर खोपेर बनाइएको बाटो सधैँ जोखिमयुक्त छ । पानी पर्ने बित्तिकै पहिरो जाने डर । असार १ को बाढीले मनाङ छियाछिया भयो ।

सडकमा गाडी गुड्ने अवस्था आएन । करिब ४ महिनाको निरन्तर मर्मतपछि बल्ला बेंशीसहरदेखि चामेसम्म सीधा गाडी चल्ने भएको थियो । कार्तिक २ मा फेरि पानी पर्‍यो । मर्मत गरेको बाटो उस्तै बिग्रियो ।
अहिले फेरि मर्मत गरेर साना गाडी चल्ने बनाइएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिग्रिएका बाटो मर्मत र भत्किएका पुलमा काठे पुल राखिएको छ । ‘यो बाटो मनाङको लाइफलाइन हो । कम्तीमा साना गाडी चल्ने हुनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने, ‘यहाँ पुल मात्रै होइन, बाटो पुरै जोखिमयुक्त छ । अहिले जोखिम हेर्ने भन्दा गाडी सीधै पुर्‍याउनुपर्ने दायित्व छ ।’

सानो कमजोरी हुने बित्तिकै पुल भाँचिने अवस्थामा छन् । ‘यो पर्यटनको सिजन हो । सिजनमा पर्यटक आए नागरिकको दैनिकी चल्छ । नत्र राज्यले राहत दिएर पाल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘काठको पुल सधैँ हुँदैन । मक्किने सम्भावना छ । बाटो पनि कच्ची र दलदले छ । विकल्प पनि खोज्ने र भइरहेको बाटो पनि चलाउने दायित्वमा हामी छौँ ।’
बेंशीसहरदेखि खाङसारसम्म आधा दर्जनभन्दा बढी खोलामा काठको पुल हालिएको छ । ठूलाठूला गाडी यही पुलबाट तार्नुपर्छ । बेंशीसहर चामे सडक आयोजनाले यो बाटोमा २१ वटा पक्की पुल बनाउनुपर्ने प्रस्ताव सरकारलाई गरेको छ । यद्यपि काम अघि बढेको छैन ।

 अघिल्लो वर्ष घोप्टेभरिमा बेलिव्रिज राखिएको छ भने त्यसअघि म्यार्दीमा अर्को पुल हालिएको छ । यात्रुको चापसँगै ठूला गाडीहरू मनाङ जान थालेपछि पुलको जोखिम बढी भएको मनाङका सिँचाइ कार्यालय प्रमुख ढाकाराम आचार्यले बताए ।

‘यति धेरै लोड काठे पुलले धान्दैन । तर जबरजस्ती गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सम्बन्धित सरकारको बेलैमा ध्यान जाओस् । नत्र ठूलो क्षति हुन सक्छ ।’ हिउँ मात्रै पर्ने यो क्षेत्रमा अहिले पानी बर्सिन थालेको छ । यसले झनै सडकमा बढी क्षति भएको छ ।
६५ किलोमिटरको बेंशीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । चामे भन्दा माथि प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले काम गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *