प्रदेश १ मा भोलिदेखि गणकलाई तालिम

विराटनगर । तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणना ०७८ को दोस्रो चरणअन्तर्गतको कार्यक्रम अघि बढाएको छ । पहिलो चरणमा घरपरिवार सूचीकरण कार्य सम्पन्न गरेको विभागले अब मूल गणनाको चरणमा प्रवेश गरेको हो ।

तथ्यांक विभागसँगको सहकार्यमा मिडिया एक्सनले पत्रकारहरूको लागि आयोजना गरेको कार्यशाला गोष्ठीमा विभागका निर्देशक केशव गौतमले प्रदेश नं. १ मा गणकहरूको लागि प्रशिक्षणको काम शुरू भएको बताएका छन् । पहिलो चरणमा गरिएको घरपरिवार सूचीकरण भइसकेकाले मूल गणना ०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने गौतमले बताए ।

जनगणनाका लागि १३ दिन बाँकी रहेकाले त्यसको लागि थप प्रक्रिया शुरू भएको उनले बताए । उनकाअनुसार तथ्यांक विभागले करिब ७० लाख परिवारको ३ करोड जनसंख्याको तथ्यांक संकलन गर्नेछ । ‘हामीले जनगणनाको तयारी विगतका आर्थिक वर्षदेखि नै गर्दै आएका छौँ,’ गौतमले भने, ‘यसभन्दा अघिल्लो जनगणनामा भएको नमूना छनौट विधिको प्रयोग देशको नयाँ संरचनाअनुसारको विवरणका कारण यो जनगणनामा छैन ।’

प्रदेश नं. १ जनगणना कार्यालयका प्रमुख तिर्थराज बरालले तथ्यांक विभाग गणनाको तयारीमा रहेको बताए । उनले प्रदेश नं. १ मा शनिवारदेखि गणकको लागि तालिम दिइने बताए । देशभरी ३९ हजार गणक नागरिकको घरसम्म पुग्नेछन् ।

जनगणनाको लागि जिल्लाहरूमा जनगणना कार्यालयले काम गरिरहेको बरालले जानकारी दिए । झापा, मोरङ र सुनसरी जिल्लामा २÷२ वटा कार्यालय स्थापना भएको र त्यसबाहेक अन्य जिल्लामा एउटा कार्यालयले काम गर्ने बताए ।

जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्रमा जिल्ला समन्वय समिति अध्यक्ष रहनेछन् । यस्तै सदस्यहरूमा नगरपालिकाका मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जिल्ला जनगणना अधिकारी रूपमा रहनेछन् ।

राष्ट्रिय जनगणनाको प्रश्नावलीहरूमा घर तथा घरपरिवार लागत सूचीकरणका २५ प्रश्न र मुख्य प्रश्नावलीमा ५५ प्रश्न संख्यासहित सामूदायिक प्रश्नावली वडास्तरीय रहने जनाइएको छ ।

यस वर्षको घरपरिवार सूचीकरण बैशाख र जनगणना जेष्ठ महिनामा गर्ने भनिए पनि कोभिडका कारण ढिला भएको थियो । विभागकाअनुसार जनगणना सम्पन्न गर्न ४ अर्ब ५० करोड खर्च हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *