विराटनगरमा भएको दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

विराटनगर । विराटनगरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । केहीबेर अघि विराटनगरको कञ्चनबारीमा तीनवटा सवारी साधन एक अर्कामा जुधेका थिए ।
ट्रकले अर्को सवारीलाई ठक्कर दिँदा अरु सवारीहरू एक अर्कोसँग ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा परेका विराटनगर महानगरपालिका- २ का ६० वर्षीय रमेशकुमार पाण्डेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घाइतेमध्ये ३ जनाको कोशी र अन्य ३ जनाको नोबेल अस्पतालमा उपचारका लागि लगिएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा सरकारी नम्बर बा २ झ ३२६५ नम्बरको गाडी पनि परेको प्रहरीले जनाएको छ । प्रदेश ३-०१०२३च२८५१ नम्बरको सवारीलाई प्रदेश २-०३००१ ख १७७२ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।








