प्रतियोगिताबाट बाहिरिने संघारमा पुग्यो डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिज

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिज लगातार दोस्रो खेलमा पराजित भएसँगै प्रतियोगितबाट बाहिरिने अवस्थामा पुगेको छ । दक्षिण अफ्रिकाले जारी टी-ट्वेन्टी विश्वकपको १८औँ खेलमा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज निर्धारित २० ओभरमा ८ विकेट गुमाएर केवल १४३ रनमात्र बनाउन सक्यो । जवाफमा उक्त लक्ष्य दक्षिण अफ्रिकाले ४ बल बाँकी छँदा २ विकेट गुमाएर पुरा गरेको थियो ।

वेस्टइन्डिजका लागि एविन लेविसले सर्वाधिक ५६ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडी चल्न सकेनन् । दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले ३ विकेट लिएका थिए ।

१४४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको दक्षिण अफ्रिकाका लागि एडेन मार्करमले अविजित ५१ रनको अर्धशतकीय इनिङ खेल्दा डेर डुसनले ४३ रनको इनिङ खेले ।

वेस्टइन्डिजका लागि सेमिफाइनल मुस्किल
प्रतियोगितामा लगतार दोस्रो हार व्यहोरेसँगै वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिने खतरा बढेको छ । अब प्रतियोगितामा कायम रहनका लागि वेस्टइन्डिजले बाँकी तीन खेलमा राम्रो रनरेट राख्दै जित निकाल्नुपर्नेछ भने इंग्ल्यान्ड र दक्षिण अफ्रिकाको खेलको समेत प्रतीक्षा गर्नुपर्नेछ । अब एक हारले वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिनेछ ।

डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले तेस्रो खेलमा २८ अक्टोबरमा बंगलादेशसँग खेल्नेछ । दक्षिण अफ्रिका भने पुनः खेलमा फर्किएको छ । उसले पहिलो खेलमा इंग्ल्यान्डसँग ६ विकेटको हार भोगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *