‘बरु राहत चाहिँदैन, डुबान रोकिदेऊ’

धनगढी । बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको बाढीले घरबाट विस्थापित भएका कैलालीको टीकापुर नगरपालिका- ८ सत्ती वनगाउँका धनीराम चौधरी नजिकैको सडकमा भेटिए । सँगै गोरु, बंगुर र डलब पनि सडकमै थिए । घरमा रहेको बाढीले भिजाएको अन्न सत्ती-राजापुर सडकमा सुकाउँदै थिए उनी । खेतमा काटेर भित्र्याउन लागिएको धान भने कसैगरी पनि बचाउन सकेनन् । घरमा भएको अन्न पनि भिजाएपछि सडकमा सुकाइरहेका थिए ।

घर नजिकै दुई विगाह‚ १५ कट्ठा जमिनमा लगाएको धानको एक बालो पनि उनले भित्र्याउन पाएनन् । आँखै अगाडि धान बाढीमा बग्यो । समात्न सकेनन्, हेरिरहे । बल्लतल्ल ज्यान जोगाए । घर डुब्न लागेपछि परिवारलाई सडक नजिकैको छिमेकीको अग्लो घरमा पुर्‍याए भने आफू घरमा भएको बचाउन सकिने सामान लिन घरतिर लागे । उल्टो राभतर घरमै फसे । घरमा भएको पाँच क्वीन्टल धान र चार क्वीन्टल गहुँ पनि बचाउन सकेनन् । राति बाढी कम भएपछि रित्तो हात छिमेकीको घरसम्म पुगे‚ जहाँ उनको परिवारसहित सात घरका मानिसहरू ओत लागेका थिए । ‘बाढी आउने भए पनि यस्तो क्षति यसअघि कहिल्यै भएको थिएन,’ उनी भन्छन्, ‘कर्णालीको बाँध फुटेपछि बाढी गाउँ पस्यो अनि हाम्रो बिचल्ली भयो ।’

यसअघिका वर्षहरूमा धान बेचेर गुजारा चलाउने उनको यस वर्ष भने घर रित्तो भएको छ । गतवर्ष मात्रै उनले ४० क्वीन्टल धान बेचेको बताए । ‘गतवर्ष करिब एक लाख रुपैयाँ बराबरको ४० क्वीन्टल धान बेचेका थियौं,’ उनी भन्छन्, ‘किनौँ भनेपनि पाउने अवस्था छैन । किन्ने पैसा पनि कहाँबाट ल्याउने ?’ यस वर्ष मजदुरी गरेर खानुपर्ने अवस्था आएको उनको भनाइ छ ।

सोही ठाउँका बालकृष्ण चौधरीको पीडा पनि त्योभन्दा कम छैन । बाढीले घरसमेत डुबाएपछि उनको आठ जनाको परिवार पनि छिमकLकै घरमा ओत लाग्न पुग्यो । अहिलेसम्म पनि उनको घर बस्न लायक बनिसकेको छैन । घर हिलोमै छ । घरमा बसेको भिजेको अन्न, गोरु, बंगुरलगायत सडकमै थिए । काटेर सुकाउन राखिएको साढे दुई बिगाहमा लगाएको धान पनि नरहेपछि अहिले उनी पनि पीडामा छन् । उनको परिवार पनि ठूलो छ । अब उनलाई के गरेर परिवार पाल्ने भन्ने चिन्ता छ ।

६ बिगाहको सबै धान बाढीमै बगेपछि बिचल्लीमा परेका सोही ठाउँका रामजी चौधरीको पीडा पनि सुनिसक्नु छैन । सिजनमा एक लाख रुपैयाँ मूल्यभन्दा बढीको धान बेच्दै आएका उनलाई यस वर्ष के खाने भन्ने चिन्ता छ । उनको घरमै ल्याएर थुपारिएको धान पनि बाढीले बगायो ।

उनका अनुसार हुलाकी सडक नभत्किएर पानी अर्कोतर्फ पास नभएको भए ठूलो मानवीय क्षति समेत हुन सक्ने थियो । ‘बाढीले भौतिक क्षति भए पनि ज्यान बचेको छ, अब खाने कुरा चाहियो,’ उनी भन्छन्, ‘पहिले बर्सेनि एक लाख रुपैयाँभन्दा बढीको धान बेचिन्थ्यो, अब किनेर पनि पाउन सकिने स्थिति छैन ।’

कर्णाली नदीले पूर्ण रुपमा डुबानमा परेर धानबाली सखाप पारेको सत्ती क्षेत्रका बासिन्दाको यो साझा समस्या हो । खेतको धान भित्र्याउन त पाएनन् नै‚ घर भित्रको धान‚ गहुँ पनि केही बग्यो र केही भिज्यो । बर्सेनि बाढीले मानवीय तथा भौतिक क्षति व्यहोर्नुपर्ने समस्याको समाधान गर्नुपर्ने स्थानीयको माग छ । स्थानीयले सरकारको राहतभन्दा पनि कर्णाली नदीले फुटाएको बाँध पुनःनिर्माण गर्नुपर्ने बताएका छन् ।

‘हामीलाई सरकारले त अहिले राहत देला, तर भोलि पनि हामीले यही समस्यासँग जुध्नुपर्छ,’ स्थानीय रामजी चौधरीले भने, ‘बरु हामीलाई राहत चाहिँदैन, गाउँ खेतमा बाढी नपस्ने वातावरण बनाइदिए पुग्छ ।’ यहाँका सबै बासिन्दाको पीडा र माग एउटै भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको माग छ ।

बाढीले धानबालीमा क्षति गरेपछि केही दिन पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यस क्षेत्रको निरीक्षण गरेका थिए । तर उनीहरुलाई कहाँ र कसरी निरीक्षण गरियो र आफूले अब के पाउने भन्ने विषयमा थाहा छैन । ‘प्रधानमन्त्री आए भन्ने सुकेका हौँ,’ स्थानीय बालकृष्णले भने, ‘आएर १० मिनेट पनि बसेनन् रे । हामीलाई राहत दिएर पनि काम छैन । डुबानको समस्या पूर्णरुपमा अन्त्य गरिदिए पुग्छ ।’

दुई जिल्लामा मात्रै तीन अर्बभन्दा बढीको धानबालीमा क्षति
बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा अर्बौँ रुपैयाँको बराबरको क्षति भएको छ । सुदूरपश्चिमका अन्नभण्डार भनेर चिनिने यी दुई जिल्लामा नै यस वर्ष धानबालीमा क्षति पुगेको छ ।

वर्षभरि मेहनत गरेर लगाएको बाली बेमौसमी वर्षाले नष्ट गरेपछि किसानहरू मारमा परेका छन् । वर्षाले सुदूरपश्चिम प्रदेशका दुईवटै जिल्लामा गरी करिब ५५ प्रतिशतसम्म धानबालीमा क्षति पुर्‍याएको सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए । बेमौसमी वर्षाले गर्दा कैलालीमा ३० प्रतिशत र कञ्चनपुरमा २५ प्रतिशतको हाराहारीमा धानबालीमा क्षति भएको उनले बताए । दुवै जिल्लाको गरेर तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले बताए । निर्देशक जोशीले प्रदेशभरको तथ्याङ्क भने प्राप्त भइनसकेको बताए ।

‘वर्षाले धानबालीमा पुर्‍याएको क्षतिको लगत संकलनका लागि कर्मचारीहरू खटिएका छन्,’ उनले भने, ‘दुई/चार दिनमा प्रदेशभरको क्षतिको विवरण आउँछ ।’ धानबालीमा क्षति पुगेपछि यस वर्ष भारतबाट गतवर्षको भन्दा चामल आयात बढ्ने उनको भनाइ छ । ‘यस वर्ष गतवर्षभन्दा १५ प्रतिशत बढी धान उत्पादन हुने आकलन गरिएको थियो,’ उनले भने, ‘तर वर्षाले क्षति गरेपछि उत्पादन घट्दैछ । यसले गर्दा यस वर्ष चामल आयात बढ्ने देखिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *