ओलीको टिप्पणी- ‘गठबन्धनको नाममा प्रणालीमाथि प्रहार भइरहेको छ’

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले गठबन्धनको नाममा सिङ्गो प्रणालीमाथि प्रहार भइरहेको बताएका छन् ।  गठबन्धनलाई एउटा सानो जमानको संज्ञा दिएका ओलीले उनीहरूले यो प्रणाली असफल गराउन लागेको टिप्पणी गरे ।

त्यसका लागि राज्यका विभिन्न संयन्त्रलाई समेत परिचालित गरेको आरोप ओलीको छ । ‘या प्रणाली असफल बनाउन प्रक्रियागत रूपमा विभिन्न अंग र सरकारी निकायलाई कमजोर बनाउँदै त्यसमार्फत प्रणाली असफल बनाउन लागि परेका छन्,’ ओलीले भने, ‘सिस्टम कोल्याप्स गर्ने सम्भावना नभए पनि त्यसलाई बदनाम गराउने र प्रभावकारिता कमजोर बनाउने काम भएको छ ।’

तीन महिना सरकारलाई पूर्णता दिनै नसकेको र त्यसपछि पनि सकारात्मक दिशमा सरकार अगाडि नबढेको ओलीले बताए । ‘संसद्ले पनि कुनै काम गर्न सकेको छैन,’ ओलीले भने, ‘हामी सरकारमा बस्दा १ जना मात्र १ मिनेट उभिँदा व्यवधान खडा भएको भनेर संसद् बन्द हुन्थ्यो ।’

अहिले एमालेजस्तोे देशकै ठूलो पार्टी प्रमुख प्रमुख प्रतिपक्षले विरोध जनाउँदा जस्केलाबाट हाम्फालेर, झ्यालबाट हाम्फालेर, करिडोर तिरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर मन्त्री आउने र कार्यक्रम संचालन भयोे भनेर तमासा देखाएको आरोप ओलीको छ । सभामुखले प्रतिनिधि सभामा एउटै स्ट्याण्डर्ड बनाउन नसकेको पनि ओलीले बताए । ‘हामीले हाम्रो सांसदले अनुशासनहीन काम गरेभन्दा कारबाही गर्दा त्यहीँ सभामुख ढोकैबाट पत्र लिन्छ र टाँस्छ,’ ओलीले भने, ‘उही सभामुख एमालेले पत्र पठाउँदा आउन त आएको थियो । हामी विचार गर्दैछौँ भनेर संविधान, कानुन तथा प्रनितिधि सभा नियमावलीविपरीत विराटनगर गर्दैछौँ भन्छ ।’

प्रेस चौतारी नेपालले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधि सभामा सभामुखले स्वेच्छाचारिता लादेको, सभामुखको हैसियतमा नभइ एउटा पार्टी कार्यकर्ताको हैसियतमा एमाले विरोधी गरिरहेको मतियार तथा एमाले विरोधी षड्यन्त्रको अंगको रूपमा काम गरेको आरोप लगाए ।

फरक प्रसङ्गमा ओलीले अदालतलाई जनताको विश्वास गर्ने थलोको रूपमा उभ्याउनुपर्ने बताए । उनले एमाले अदालतभित्र भइरहेको गतिविधिमा नपस्ने बताए ।   सर्वोच्चमा भइरहेको राजनीतिबारे इङ्गित गर्दै ओलीले भने, ‘सर्वाेच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्त्वपूर्ण अङ्गको रुपमा राख्नुपर्ने हुन्छ । त्यो भइरहेको छैन । हामीलाई दाउपेचमा पस्नु छैन । सर्वोच्च अदालतभित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन । हामीलाई त्यहाँभित्रको खिचातानीमा जानु छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *