अफगानिस्तानको जितमा कीर्तिमानै कीर्तिमान

काठमाडाैँ । युएईमा जारी टी-ट्वेन्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो पहिलो खेलमा अफगानिस्तानले प्रभावशाली जित हासिल गरेको छ । स्कटल्याण्ड विरुद्ध १३० रनको विशाल जित निकाल्ने क्रममा अफगानी बलर मुजिब उर रहमानले ५ र रसिद खानले ४ विकेट लिए ।

शारजाह मैदानमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १० ओभर २ बलमा ६० रनमानै अलआउट हुन पुग्यो। स्कटल्यान्डका लागि जर्ज मुन्सेको २५ रन सर्वाधिक रह्यो।

जितसँगै अफगानिस्तानले धेरै कीर्तिमान आफ्नो नाममा बनायो । अफगानिस्तानको १३० रनको जित उसको टी-२० अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक ठुलो रन अन्तरको जित हो। यसअघि केन्यासँग २०१३ मा १०६ रनको जित अफगानिस्तानको ठूलो रन अन्तरको जित थियो।

त्यस्तै याे टी-ट्वेन्टी विश्वकप इतिहासकै संयुक्त रूपमा दोस्रो ठूलो रन अन्तरको जित हो । सन् २००९ मा दक्षिण अफ्रीकाले पनि स्कटल्याण्ड १३० रनलेनै पराजित गरेको थियो। २००७ मा श्रीलङ्काले केन्यालाई १७२ रनले हराएको थियो । जुन टी-ट्वेन्टीमा सर्वाधिक फराकिलो रन अन्तरको जित हो।

अफगानिस्तानसँग स्कटल्याण्डले बनाएको ६० रन टी-ट्वेन्टीमा उसको सर्वाधिक कम स्कोर हो भने विश्वकपमा चौथो कम स्कोर हो।

स्कटल्याण्डको इनिङमा ५ जना ब्याट्सम्यान एलबीडब्लु आउट भएका थिए। जुन टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा एकै खेलाडीले गरेको सर्वाधिक एलबिडब्लु हो। मुजिबले ६ ओभर भित्र १४ रन खर्चेर ४ विकेट लिएका थिए। उनले विश्वकप इतिहासकै राम्रो स्पेल सहित विकेट लिएका थिए।

उत्कृष्ट ब्याटिङ
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाद्रानले ५९ रन बनाए। त्यस्तै रहमानउल्लाह गुर्बाजले ४६ रन जोड्दा हज्रातउल्लाह जाजईले ४४ रन बनाए।

मोहमद शाहजादले २२ रन जोड्दा कप्तान मोहमद नाबीले अविजित ११ रन बनाए। स्कटल्याण्डका साफ्यन शारिफले २ तथा जोस डेभि र मार्क वाटले समान १-१ विकेट लिए। जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ। अफगानिस्तान शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *