सुन काण्डका नाइके गोरेलाई १० वर्ष कैद‚ १३ लाख क्षतिपूर्ति भराउने फैसला

विराटनगर । उर्लाबारीका सनम शाक्यसँग जाेडिएकाे साढे ३३ किलाे सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले सजाय ताेकेकाे छ ।
सोमबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय ताेकेकाे गरेकाे अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी फैसला भएको उनले बताए ।
सुन तस्करी प्रकरणमा सफाइ पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले जन्मकैद फैसला सुनाएको थियो । असोज १९ गतेको फैसलामा अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको भने थिएन ।
अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैदको सजाय भएपनि जन्मकैदमा जोडिने छैन । दुईवटै सजाय सँगसँगै अगाडि बढ्ने भएकाले अधिकतम सजायमात्रै कायम हुने उनको भनाइ छ । असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको थियो । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो ।








