चीनले ल्यायो स्कुलका बालबालिकाबाट गृहकार्यको दबाब हटाउने कानून

काठमाडौँ । चीनले बालबालिकामाथि अत्यधिक गृहकार्यको दबाब कम गर्ने कानून पारित गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बालबालिकालाई गृहकार्यको दबाब कम गर्ने र विद्यालयपछिको अध्ययनलाई अझ गहन बनाउने शिक्षासम्बन्धी कानून पारित भएको हो ।

कानूनमा अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई आराम र व्यायामका लागि उचित समय भए/नभएको सुनिश्चित गर्न र बालबालिकालाई अनलाइनमा धेरै समय बिताउन नदिन भनिएको छ । गएको अगस्टमा चीनले ६ र ७ वर्षका बालबालिकालाई विद्यालयमा लिखित परीक्षा लिन प्रतिबन्ध लगाएको थियो ।

चीनका सरकारी अधिकारीहरूले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा हानि पुर्‍याएको भन्दै गृहकार्यमा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । गत वर्ष चीनले बालबालिकाको इन्टरनेटको लत कम गर्न भन्दै विभिन्न कार्यक्रम ल्याएको थियो । अहिले माग गरिएको विषय गत शनिबार देशको स्थायी विधायिका निकायद्वारा पारित भएको थियो ।

कानूनको पुरै विवरण अहिले प्रकाशित भने भइसकेको छैन । तर सञ्चारमाध्यमका अनुसार कानूनले अभिभावकलाई बालबालिकाको नैतिकता, बौद्धिक विकास र सामाजिक बानीहरू सिकाउँदै पालनपोषण गर्न प्रोत्साहित गर्ने सरकारले बताएको छ ।

यो नियम कार्यान्वयनका लागि स्थानीय सरकार नै जिम्मेवार हुनेछ । यसका लागि स्थानीय सरकारले पाठ्यपुस्तकभन्दा अतिरिक्त गतिविधिलाई समृद्ध बनाउन बजेट छुट्याउने, आर्थिक व्यवस्था मिलाउनेजस्ता काम पनि गर्नुपर्नेछ । यो शैक्षिक कानूनले सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया पाएको छ ।

केही प्रयोगकर्ताले राम्रो अभिभावकत्वका लागि सही अभियान भन्दै प्रशंसा गरेका छन् भने केहीले स्थानीय अधिकारी वा अभिभावकको क्रियाकलापमा नै कानून निर्भर रहने बताएका छन् । –बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *