एसियन कप छनोटमा आज नेपाल र इरान भिड्दै

काठमाडौँ । तेइस वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ । अण्डर–ट्वेन्टी थ्री एसियन कप छनोटको पहिलो खेलमा नेपालले आफूभन्दा बलियो टोली इरानसँग खेल्न लागेको हो ।

नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् । तर, इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । इरानविरुद्धको तेइस वर्षमुनिको खेलमा नेपालले अहिलेसम्म हराउन सकेको छैन । नेपालले तेइस वर्षमुनिको एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो ।

यसअघि सन् २०१५ मा उसैको घरेलु मैदानमा भएको खेलमा इरानले नेपाललाई ५–० ले पराजित गरेको थियो । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल रंगशालामा खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे शुरु हुनेछ । समूह बी मा रहेको नेपालसँगै ताजकिस्तान, लेबनान र इरान छन् । नेपालले दोस्रो खेलमा ताजकिस्तानसँग कात्तिक ११ र अन्तिम खेल लेबनानसँग कात्तिक १४ गते प्रतिस्पर्धा गर्नेछ।

छनोट अन्तर्गत ११ समूहको शीर्ष टोलीले एएफसी अण्डर–ट्वेन्टी थ्री एसियन कप खेल्ने छन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ वर्ष मुनिको एसियन कपमा छानिने छन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *