बार्सिलोनाको मैदानमा रियलको जित

काठमाडौँ । स्पेनिस लालिगा अन्तर्गत जारी सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले २-१ को जित दर्ता गरेको छ। बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा जित निकालेसँगै रियल अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ।

३२ औ मिनेटमा डेबि अलबाको गोलमार्फत रियल म्याड्रिडले अग्रता लिएको थियो। ९० मिनेटसम्म १-० को अग्रता बनाएको रियलले ७ मिनेट थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा दोस्रो गोल थप्यो। मार्को एसन्सियोले गरेको प्रहार गोलरक्षक टेर स्टेगनले रोक्दा पाएको रिबाउन्डलाई लुकास भाजक्वेजले गोलमा परिणत गरेका थए।

तर बार्सिलोनाले अतिरिक्त समयको अन्तिम मिनेटमा सर्जियो अगुएरोको गोलमार्फत खेलमा सान्तवना गोल फर्कायो। बार्सिलोना जारी सिजन ९ खेलमा १५ अंक बनाएर आठौं स्थानमा पुगेको छ।

जितसँगै, रियलले ९ खेलबाट २० अंक जोड्दै शिर्ष स्थान कायम गरेको हो। रियलसँगै आइतबार नै आफ्नो खेलमा जित निकालेको सेभिया र रियल सोसिडाडको पनि समान ९ खेलबाट २० अंक छ।

सन् २००४ यता बार्सिलोनाका पुर्व लिजेन्ड लियोनेल मेसी र रियलका सर्जियो रामोस बिनाको यो पहिलो एल क्लासिको हो।

आइतबारनै भएको अर्को खेलमा सेभियाले लेभान्टेमाथि ५-३ को जित निकाल्दै २० अंक बनाएर उपाधि दाबेदारी कायम राखेको छ।  पहिलो हाफमा ३-१ को अग्रता बनाएको सेभियाले दोस्रो हाफमा थप दुई गोल थप्यो भने दुई गोल खाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *