४ वर्षपछि पुनः मतगणना, स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौँ । महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. १० को वडाध्यक्षको मत परिणाम ४ वर्षपछि उल्टिएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ४ वर्षपछि अदालतको आदेशबाट आइतबार (आज) पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका हुन् ।

४ वर्ष वडा चलाएका वडाध्यक्ष अरुणकुमार चौधरी पुनः मतगणनाबाट पराजित भएको नगर प्रमुख संजयकुमार सिंहले बताए । योसँगै चौधरीले जिम्मेवारी सुम्पिनुपर्ने सिंहले बताए । ‘अब जितिसकेपछि जिम्मेवारी सुम्पिनुपर्‍याे,’ प्रमुख सिंहले मकालुखबरसँग भने, ‘पुष्टि भइसकेपछि निःसर्त रूपमा दिनु परिहाल्यो नि ।’

चौधरीले नेपाली कांग्रेसबाट चुनाव जितेका थिए । उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीको २६६ मत मात्र आएको थियो । योसँगै २६८ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित भएका हुन् ।

०७४ सालको चुनावपछि भएको मतगणनामा दुवै उम्मेदवारको समान २६७ मत आएको भनिएको थियो । समान मत आएपछि गोलाप्रथा गरी कांग्रेस उम्मेदवार चौधरीलाई निर्वाचित गरिएको थियो । तर, धाँधली भएको भन्दै उम्मेदवार रायले अदालतमा निवेदन दिएका थिए ।

यसपछि पुनः मतगणना हुँदा यस्तो परिणाम देखिएको थियो । आफूले जितेपछि रायले आफूले न्याय पाएको बताएका छन् । भने— ‘ममाथि धाँधली भएको थियो । बल्ल न्याय पाएँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *