विश्वकपमा भारत-पाकिस्तान

पाकिस्तानले पहिलो पटक जित्ला कि भारतले १३ औँ पटक 

टी-ट्वेन्टीमा ५ वर्ष ७ महिना पछि खेल्दै भारत पाकिस्तान 

काठमाडौँ । भारत र पाकिस्तानको बहुप्रतिक्षित क्रिकेट खेल आज (आइतबार) हुँदैछ। टी-ट्वेन्टी विश्वकप अन्तर्गत भारत र पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरू हुनेछ । टी-ट्वेन्टी फर्म्याटमा यी दुई देश २,०४५ दिन अर्थात् ५ वर्ष ७ महिना ५ दिन पछि खेल्न लागेका हुन् ।

यसैपनि सबैको ध्यान तान्ने भारत पाक क्रिकेटमा दुबै टिमले धेरैपछि एकले अर्कोलाई हराउने अवसर पाएका छन् । भारतसामु विश्वकपमा (एकदिवसीय र टी-ट्वेन्टी) १३ औँ पटक पाकिस्तानलाई हराउने अवसर छ । पाकिस्तानलाई भने विश्वकपमा पहिलो पटक भारतलाई हराउने मौका मिलेको छ ।

भारतलाई कुनै पनि फर्म्याटको विश्वकपमा एक पटक पनि हराउन नसक्नु पाकिस्तानका लागि दु:ख र इखको कुरा रहँदै आएको छ । तर आज पनि पाकिस्तानले यो मौका उपयोग गर्न सक्छ कि सक्दैन त्यो चाहिँ खेलपछि मात्रै थाहा हुनेछ ।

 पछिल्लो पटक भारतले पाकिस्तानलाई २०१६ मा विश्वकपको समूह चरणमा ६ विकेटले हराएको थियो । २०१६ मै भएको एसिया कपमा पनि भारत ५ विकेटले विजयी रह्यो । त्यस्तै २०१४ र २०१२ मा पनि भारतले नै बाजी मार्‍यो ।

याे पनि : भारत-पाक खेलका लागि होटल प्याक छिनमै खरिद

२०१२ मै भएको टी-२० अन्तर्राष्ट्रियमा भने पाकिस्तानले ५ विकेटले भारतलाई हराएको थियो ।  यस्तै, २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई १८० रनले हराउँदै पाकिस्तान विजेता बनेको थियो ।

खेल प्रतिस्पर्धात्मक होला ? खेल कसले जित्ला ?

भारत-पाकिस्तान खेलको चर्चा र आँकलन खेल अघिबाटै हुने गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले समेत यो खेललाई ठूलो महत्त्वका साथ लिन्छ । यद्यपि यी दुई देशबिच थाेरै मात्र प्रतिस्पर्धा भएका छन् ।

२००७ को टी-ट्वेन्टी विश्वकपको फाइनल बाहेक धेरैजसो खेलमा भारतीय टिमले लगभग एकतर्फी रूपमा खेल आफ्नो पकडमा पारेको छ । २०१७ को च्याम्पियन्स ट्रफीमा भने पाकिस्तानले फराकिलो जित निकाल्दै उपाधि जितेको थियो।
यस पटक भने क्रिकेट विश्लेषकहरूले भारत भन्दा तुलनात्मक रूपमा पाकिस्तान बढी दाबेदार हो भनिरहेका छन् । तर इतिहास र तथ्य भने भारतका पक्षमा छन् । टी-ट्वेन्टी विश्वकपमा भारतले पाकिस्तानलाई लगातार पाँच पटक हराएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पनि भारतीय टिमले पाकिस्तानको तुलनामा केही राम्रो प्रदर्शन गरेको छ। तर पाकिस्तानको अहिलेको टिम टी-ट्वेन्टीका लागि निकै विस्फोटक मानिएको छ । पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवान उत्कृष्ट लयमा छन् ।

यो वर्ष रिजवानले १४ इनिङमा १ शतक र ७ अर्धशतक सहित ७ सय ५२ रन बनाउँदै धेरै रन बनाउने खेलाडीको शीर्षस्थानमा छन् । बाबरले १४ इनिङमै १ शतक र ४ अर्धशतक सहित ५ सय २३ रन बनाएका छन् ।

 १५ खेलमा ओपनिङ गर्दा यी दुई जोडीले तीन पटक शतकीय र तीन पटक ५० रनभन्दा माथिको साझेदारी गरेका छन् । त्यसैले पनि ओपनिङको प्रदर्शनले पाकिस्तानका लागि सर्वाधिक महत्वपूर्णमध्ये एक हुनेछ ।पाकिस्तानलाई पिचको फाइदा पनि छ । यूएई पाकिस्तानको घरेलु मैदान सरह हो । २००९ मा श्रीलंका टिम चढेको बस कराँचीमा बम विस्फोटमा परेपछि पाकिस्तानले युएईलाई नै घरेलु मैदान बनाउँदै आएको छ । यो फाइदा पाकिस्तानी खेलाडीलाई हुनेछ । मोहम्मद हफिज पनि फर्ममा छन् । यस्तै हैदर अली र फखर जमान, पनि आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

अर्कोतिर, भारतीय टिम सधैँ बलियो र सन्तुलित टिमका रूपमा रहेको छ । कप्तान विराट कोहली र रोहित शर्मा टि-ट्वेन्टी क्रिकेटका सफल खेलाडी हुन् । टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा चार शतक प्रहार गरेका रोहितले १ सय ११ खेलमा ४ शतक र २२ अर्धशतक सहित २ हजार ८ सय ६४ रन बनाएका छन् ।

विराटले ९० खेलमा २८ अर्धशतक सहित कुल ३ हजार १ सय ५९ रन बनाएका छन् । लोकेश राहुलको उच्च फर्म पनि भारतको अर्को राम्रो पक्ष हो । यस्तै टी-ट्वेन्टीका सफल खेलाडी ऋषभ पन्त र रविन्द्र जडेजा पनि भारतीय टिममै छन् ।

भारतलाई शाहीनको डर

शाहीन शाह अफ्रिदीलाई पाकिस्तानको अर्को वसीम अकरमको रूपमा हेर्ने गरिएको छ। शाहीन इनिङको सुरुवातमा नै निकै घातक बलरका रूपमा स्थापित भएका छन् । उनले २० पटक पहिलो ओभरमै विकेट लिएका छन् । त्यसैले भारतको ओपनिङ जोडीलाई अफ्रिदीको यो यथार्थले सशङ्कित बनाएको छ।

आज भारतीय टिममा रविन्द्र जडेजासँग दोस्रो स्पिनरका रूपमा वरुण चक्रवर्ती या रविचन्द्रन आश्विनमध्ये एकले मौका पाउनेछन् । यदि पछिल्लो क्रममा पनि ब्याटिङ गर्न सक्ने खेलाडीको छनोट भएमा आश्विन रोजाइमा पर्नेछन् । सुरुवातबाट नै दबाब बढाउनका लागि भने वरुण छनोटमा पर्ने सम्भावना धेरै छ।

पाकिस्तानी टिमले खेलको एक दिन अघि नै १२ खेलाडीको सूची जारी गरिसकेको छ । एक मात्र जिज्ञासाका रूपमा शोएब मलिक, मोहम्मद हफिज तथा हैदर अली मध्ये प्लेइङ ११ मा कसले स्थान बनाउलान् भन्ने छ।

पिचको अवस्था

भर्खरै सकिएको आईपीएल फेज-२ लाई आधार मान्दा दुबईको पिचमा धेरैजसो १५० देखी १७० रनको स्कोर बनेको छ। आईपीएलका १३ खेल यो मैदानमा भएका थिए। जहाँ ९ खेलमा दोस्रो ब्याटिङ गर्ने टिमले जितेको छ ।

पहिले ब्याटिङ गर्ने ४ टिमले मात्र जितेका छन् । त्यसैले भारत पाकिस्तानको खेलमा टस जित्ने टिमले पहिले फिल्डीङ गर्ने निर्णय गर्ने सम्भावना धेरै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *