टी-ट्वेन्टीका धुरन्धर खेलाडी निरीह, इंग्ल्यान्डको कीर्तिमानी जित

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा इंग्ल्यान्डले विजयी सुरूवात गरेको छ। शनिबार वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले प्रतियोगितामा सुखद सुरूवात गरेको हो।

इंग्ल्यान्डले टी-ट्वेन्टी विश्वकप इतिहासमै पहिलो पटक वेस्टइन्डिजलाई पराजित गरेको हो।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले केवल १४ ओभर २ बलमा ५५ रन मात्र जोड्न सक्यो।

यो योगफल वेस्टइन्डिजको टी-ट्वेन्टी विश्वकपकै सबैभन्दा कम योगफल हो। यो समग्रटी-ट्वेन्टी विश्वकप इतिहासमा भने तेस्रो कम योगफल हो। वेस्टइन्डिजको टी-ट्वेन्टीको अन्तर्राष्ट्रियमा भने यो दोस्रो कम योगफल हो। वेस्टइन्डिजले सबैभन्दा कम २०१९ मा इंग्ल्यान्ड बिरुद्धनै ४५ रन बनाएको थियो।

टी-२० मा सबैभन्दा थोरै रन नेदरल्याण्डको नाममा रहेको छ। नेदरल्यान्डले २०१४ मा ३९ तथा जारी विश्वकपमा श्रीलंका बिरुद्ध ४४ रन बनाएको थियो।

टी-ट्वेन्टीका धुरन्धर खेलाडीले भरिएको भएपनि वेस्ट इन्डिजले त्यसअनुसारको ब्याटिङ गर्न सकेन । क्रिस गेल (१३ रन) बाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इंग्ल्यान्डका आदील रशिदले सर्वाधिक ४ विकेट लिंदा मोइन अली, ट्यामल मिल्सले समान २ विकेट लिए। त्यस्तै क्रिश वोक्स र क्रिश जोर्डनले समान एक एक विकेट लिए।


७० बल बाँकी छँदै जित
५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो। वेस्टइन्डिजका बलरहरुले राम्रो प्रयास गरेपनि कमजोर स्कोर जोगाउन सकेनन्।

वेस्टइन्डिजका युवा बलर अकेल होसिनले दुई इंग्लिस ब्याट्सम्यानलाई कट एन्ड बोल्ड गरे। उनको एक क्याच ६ फिट हावामा उडेर क्याच लिएका थिए।

इग्ल्यान्डका ओपनर जोस बटलर २४ रनमा अविजित रहे । अर्का ओपनर ज्यासन रोयले ११ रन बनाए। त्यस्तै जोनी ब्रेस्ट्रोले ९ रन बनाउँदा मोइन अली ३ रनमा रन आउट भए। लिम लिभिङस्टोन १ रनमा होसिनको आकर्षक क्याचको सिकार भए।

यसअघि अस्ट्रेलियाले पनि प्रतियोगितामा विजयी सुरूवात गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *