टी-ट्वेन्टी विश्वकपमा आज दुई च्याम्पियन, कसले मार्ला बाजी ?

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा शनिवारबाट सुपर-१२ का खेल सुरु भएको छ । समूह १ अन्तर्गत हुने दिनको दोस्रो खेलमा विश्व च्याम्पियन बनिसकेका वेस्ट इन्डिज र इंग्ल्यान्ड एक अर्कासँग खेल्दैछन् । २०१० मा यो फर्म्याटको च्याम्पियन बनेको इंग्लिस टिम २०१९ मा एक दिवसीय विश्वकपको समेत च्याम्पियन हो।

वेस्टइन्डिजले भने २०१७ मा इंग्ल्याडलाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो । त्यसैले पनि इंग्ल्यान्ड उक्त हारको बदला अहिले समूह चरणमा नै लिने प्रयासमा हुनेछ। दुवै टिमसँग अहिले पावर हिटर ब्याटर छन् ।

त्यसैले यो खेललाई दुई उपाधि दाबेदारको सुरुवाती भिडन्तका रूपमा समेत लिएको छ । यो समूहमा यी दुई बाहेक दक्षिण अफ्रिका, अस्ट्रेलिया, श्रीलंका र बंगलादेश सहभागी छन् । शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

हेड टु हेड

वेस्ट इन्डिज र इंग्ल्यान्डबिच अहिलेसम्म १८ खेल भएकोमा वेस्ट इन्डिजले ११ खेल जितेको छ भने इंग्ल्यान्डले ७ खेल जितेको छ । टी-ट्वेन्टी विश्वकपमा भने इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हालसम्म हराउन सकेको छैन । टी-ट्वेन्टी विश्वकपमा पाँच पटक भेट हुँदा सबै खेलमा वेस्ट इन्डिज विजयी भएको छ ।

कस्तो छ पिच

प्रतियोगिता दुबई इन्टरनेसनलको मैदानमा हुनेछ । केही समय अघि सम्पन्न आइपिएलमा ३ खेलमा सुरमा ब्याटिङ गर्ने टिमले र २ पटक पहिलो बलिङ गर्ने टिमले जितेका थिए ।

समग्रमा यो मैदानमा अहिलेसम्म ६२ वटा टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएकोमा ३४ खेलमा पहिले ब्याटिङ गर्ने टिमले र २७ खेलमा पहिले बलिङ गर्ने टिमले जित निकालेका छन्। एक खेल बराबरी भएको छ । यस कारण पनि यो पिचमा दोस्रो ब्याटिङ गर्ने टिमलाई फाइदा हुन सक्ने आँकलन गरिएको छ ।

बेन स्टोकस् र साम करन जस्ता अलराउन्डर नहुँदा इंग्ल्यान्डलाई केही चुनौती हुनेछ। वेस्ट इन्डिज टिम स्पिनविरुद्ध बलियो छ । यस्तोमा इंग्ल्यान्ड संयमित हुनु जरुरी छ । तुलनात्मक रूपमा वेस्ट इन्डिज केही सन्तुलित देखिएको छ ।

मिडल अर्डरमा कप्तान केरोन पोलार्ड तथा आन्द्रे रसेल लगायत चर्चित अलराउन्डर छन्। त्यसअघि एविन लेविस, लेन्डर सिमन्स, क्रिस गेल तथा निकोलस पुरन जस्ता धुरन्धर ब्याटर वेस्ट इन्डिजको टिममा हुनेछन् ।

इंग्लिस ब्याट्सम्यान जोस बटलर टी-२० क्रिकेटमा निकै खतरनाक मानिएका छन्। त्यसैले उनी विरुद्ध ब्राभो उत्रने छन्। टी(२० क्रिकेटमा ब्राभोले बटलरले ३ पटक आउट गरेका छन्। उनको एभरेज केवल १९ रन रहेको छ।

कसले जित्ला ?

वेस्ट इन्डिज प्रतियोगिता अघिको दुवै वार्मअप खेलमा पराजित भएको थियो। जहाँ इंग्ल्यान्डले १ खेलमा जित निकालेको छ। भारतविरुद्ध हारेको थियो। अहिलेको फर्मलाई आधार मान्दा इंग्ल्यान्डले जित निकाल्न सक्ने छ।

तर जुनसुकै अवस्थामा खेल परिवर्तन गर्ने तागत वेस्ट इन्डिजसँग हुनेछ। त्यसैले खेल रोमाञ्चक हुने पक्का छ। खेल ७:४५ मा हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *