कैलालीमा कांग्रेसको अधिवेशन छठपछि, मूल व्यवस्थापन समिति गठन 

धनगढी । कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन छठ पर्वपछि हुने भएको छ । जिल्ला कार्य सम्पादन समिति कैलालीको शनिवार बसेको बैठकले जिल्लामा १४ औंँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन छठ पर्वपछि गर्ने निर्णय गरेको हो ।

जिल्लामा सबै तहमा अधिवेशन सम्पन्न गर्नका लागि बैठकले जिल्ला सभापति नरनारायण शाह ‘मनु’को अध्यक्षतामा १ हजार ५०१ सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति पनि गठन गरेको जिल्ला कार्यसमिति सदस्य नृपबहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार मूल समितिलाई सहयोग गर्न ११ जना संयोजक रहने गरी विभिन्न समिति निर्माण गरिएको छ । जसमा आर्थिक व्यवस्थापन समिति संयोजकमा शेरबहादुर देउवा, अधिवेशन प्रचार प्रसार समिति संयोजकमा नृपबहादुर सुनार, स्वयंसेवक समिति संयोजकमा कृष्ण पाण्डे, आवास व्यवस्थापन समिति संयोजकमा केशव मिश्र, भोजन व्यवस्थापन समिति संयोजकमा  नारायण सत्याल,  यातायात व्यवस्थापन समिति संयोजकमा  टेकराज जोशी, प्राथमिक उपचार समिति संयोजकमा उत्तम जोशी चयन भएका छन् ।

त्यसैगरी मञ्च व्यवस्थापन समिति संयोजक पुरन चौधरी, अतिथि सत्कार समिति संयोजकमा रेखा देवकोटा, सचिवालय  व्यवस्थापन समिति संयोजकमा कमला शर्मा र निर्वाचन व्यवस्थापन  समिति संयोजकमा नवराज रावललाई तोकिएको छ । उक्त समितिमा सदस्यको चयन संयोजकले गर्नेछ भने मनोनयन भएको पत्र जिल्ला सभापतिले प्रदान गर्नेछन् ।

बैठकले जिल्ला अधिवेशनको स्थान मेनरोड धनगढीमा अवस्थित ओम प्यालेसमा गर्ने निर्णय गरिएको छ । उक्त बैठकले असोज ३१ गते आएको अविरल वर्षाका कारण कैलाली जिल्लाको मुख्य बाली धान र सहायक अन्यबालीमा पुगेको क्षतिको अवलोकन गर्न नेपाली काँग्रेसका केन्द्रीय पार्टी सभापति तथा प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवा र उहाँको अन्य टोलीका सदस्यप्रति हार्दिक आभार गर्नका साथै क्षतिको यकिन गरी चाँडो भन्दा चाँडो राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *