टी-ट्वेन्टी विश्वकप

भारत-पाक खेलका लागि होटल प्याक छिनमै खरिद !

काठमाडाैँ । २४ अक्टोबर (भाेलि) मा हुने टी-२० विश्वकपको शीर्ष १२ को पहिलो खेल बहुप्रतीक्षित मानिएको छ । भारत र पाकिस्तानबीच हुने यो खेललाई भारत र पाकिस्तानी समर्थकमाझ मात्र होइन विश्व क्रिकेटमानै प्रतीक्षाका साथ हेरिएको छ। खेलस्थल युएईमा भारत र पाकिस्तानका समर्थकको बाहुल्यता छ। यसकारण पनि यो खेल थप रोमाञ्चक र उत्साहजनक हुने पक्का छ।

श्रमिकदेखी करोडपतिसम्म आ-आफ्नो टीमको समर्थनका लागि जोडिएका छन्। यो खेलका लागि होटलहरुले तय गरेको टुर प्याकेज हातहातै बिक्री भएका छन्। अझ यो खेल हेर्न अमेरिका र क्यानडामा बस्ने भारतीय र पाकिस्तानी नागरिकले समेत ठुलो मात्रामा प्याकेज खरिद गरिरहेका छन्।

युएईको* चर्चित ट्राभल्स कम्पनी दादाभाईका सुपर भाइजर एलिडसले खेलको टिकटसँगै एक रात होटलमा बस्ने ५०० प्याकेज ओपनिङ गरेको केही समयमै खरिद भएको बताए। उनले भने ‘हामीले प्याकेज जारी गरेको केही मिनेटमै सबै खरिद भयो। हामीले एक प्याकेजको २००० दिराम (६५ हजार) तय गरेका थियौँ ।’ अर्कोतर्फ रेस्टुरेन्ट र बारमा पनि समर्थक लोभ्याउन अनेक प्याकेज घोषणा भइरहेका छन्। हरेकजसो प्याकेजमा क्रिकेट छाएको छ। जसमा खानाको मेनु सेन्चुरी प्याक, हाफ सेन्चुरी प्याक लगायत क्रिकेटसँग जोडेर बनाइएको छ। घरमै बस्नेहरूका लागि समेत रेस्टुरेन्टले विश्वकपको अवसरमा होम डेलिभरीमा छुट सहितको प्रस्ताव गरेका छन्।

३० मिनेटमै बिक्यो टिकट
भारत-पाकिस्तानबीचको खेलको टिकट बिक्री शुरु भएको केही समयमै सबै बिकेको छ । सुरुवाती ३० मिनेटमै टिकेट वेटिङ १३ हजारभन्दा बढी देखिएको थियो। कतिपय स्थानमा ४ देखी ५ गुणा बढी मूल्यमा टिकट कारोबार भएको खबर पनि आएको छ। धेरैजना मैदानमा नै गएर खेल हेर्ने अवसरबाट वञ्चित हुने पक्का छ। युएइमा काम गर्ने हजारौँ भारतीय तथा पाकिस्तानी नागरिक टिकट खरिदका लागि प्रयासरत छन्। कतिपय कम्पनीले टिकट प्राप्त गर्ने कर्मचारीलाई छुट्टीको व्यवस्था गरेका छन् ।

१० सेकेन्डको  विज्ञापनका लागि २५ देखी ३० लाख
टी-२० विश्वकप लाइभ ब्रोडकास्टिङका क्रममा २४ अक्टोबरबाट १०-१० सेकेन्डको स्लटका लागि २५ देखी ३० लाख भारतीय रुपैयाँ तिर्नु पर्ने भएको छ। यो भारतीय टिभीमा लाइभ स्पोर्टस इभेन्टका क्रममा प्रसारित विज्ञापनको सर्वाधिक उच्च रेट हो। यसअघि यो स्लटको मूल्य ९.५ लाख रुपैयाँ रहेको थियो।

होटल डिमान्ड उच्च
दुबईका ट्राभल्स एजेन्सीहरूको रिपोर्टअनुसार विश्वकपका क्रममा भारतीयकाे टिकट बुकिङ तथा होटल बुकिङमा उछाल आएको छ। पहिलेबाटै होटलमा स्थान छैन । अझ सेमिफाइनल र फाइनल पुगेपछि होटल बुकिङ चाप झनै बढ्ने छ।

*सच्याइएको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *