बागमतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति

काठमाडौँ । बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । बिहीबार (आज) बसेको विपक्षी गठबन्धनमा रहेका दलका नेताहरूको बैठकले यस्तो निर्णय गरेको कांग्रेसका एक नेताले बताए ।

ती नेताकाअनुसार यसअघि केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार नै पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् । ‘राजेन्द्रजी मुख्यमन्त्री बन्ने सहमति भयो,’ ती नेताले भने, ‘यसअघि पनि त्यस्तै सहमति थियो केन्द्रमा । अन्य मन्त्रालयको टुङ्गो अर्को बैठकपश्चात् होला ।’

कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेकाे थियाे । तर, केन्द्रमा मन्त्रालयीय भागबन्डा गरिएको बेला बागमती र प्रदेश नं. १ को नेतृत्व एकीकृत समाजवादीले पाउने सहमति भएको थियो ।

बागमतीमा अहिले नेकपा (एमाले) को नेतृत्वमा सरकार छ । यद्यपि एमाले प्रदेशमा अल्पमतमा परिसकेको छ । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेको आज २ महिना २ दिन भइसकेको छ । तर, उनले विश्वासको मत लिइसकेकी छैनन् ।

गत असोज २२ गते नै प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरिसकेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रयोजनसहित अहिले प्रदेश सभा बैठक जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *