सलाहको लगातार नवौं खेलमा गोल, ग्रिजम्यानलाई रातो कार्ड

काठमाडाैँ । च्याम्पियन्स लिग फुटबलमा लिभरपुल स्टार मोहम्मद सलाहले टीमका लागि लगातार नवौं खेलमा गोल गरेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले च्याम्पियन्स लिग समूह ‘बी’ मा एट्लेटिको म्याड्रिडमाथि ३-२ को जित हासिल गरेको छ ।

घरेलु मैदानमा एट्लेटिकोका लागि दुई गोल गरेका एन्टोनी ग्रिजम्यानले ५२औं मिनेटमा सोझै रातो कार्ड सामना गरेपछि एट्लेटिकोले बाँकी समय १० खेलाडीमा सीमित भएको थियो । यसअघि आठौं मिनेटमा मोहम्मद सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नाबी केइटाले अर्को गोल गरेपछि लिभरपुलको पक्षमा खेल ढल्किएको थियो ।

तर एन्टोनी ग्रिजम्यानले दुई गोल गरेपछि पहिलो हाफमानै एट्लेटिको खेलमा फर्कियो । कोकेको पासमा २०औं मिनेटमा पहिलो गोल गरेका ग्रिजम्यानले जोआवो फेलिक्सको पासलाई गोलमा परिणत गर्दै ३४औं मिनेटमा एट्लेटिकोलाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको सुरुमै ग्रिजम्यानको रातो कार्डसँगै एट्लेटिकोको टोलीमा एक खेलाडी कम भएपछि लिभरपुलले त्यसको फाइदा उठायो । तथापि गोलका लागि संघर्ष गरिरहेको भ्रमणकारी टोलीका लागि समय सकिन १२ मिनेट बाँकी रहँदा सलाहले पेनाल्टीमार्फत विजयी गोल संभव बनाए । च्याम्पियन्स लिगमा लिभरपुलको यो तीन खेलमा तेस्रो जित हो ।

उक्त समूहको अर्को खेलमा एफसी पोर्टोले एसी मिलानमाथि १-० को जित हासिल गर्‍यो । पोर्टोलाई घरेलु मैदानमा जित दिलाउन लुइस डियाजको एकमात्र गोल निर्णायक भएको थियो । डियाजले ६५औं मिनेटमा मेहदी टारेमीको पासलाई सदुपयोग गरेका थिए ।

मंगलबार रातिका नतिजापछि तीन खेलमा नौं अंक जोडेको लिभरपुल समूहको शीर्ष स्थानमा रहँदा समान चार अंक जोडेका एट्लेटिको र पोर्टो दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *