एसियाकप छनोट खेल्ने नेपाली युवा टिम ताजकिस्तान प्रस्थान

काठमाडौँ । एसिया कप छनोटमा प्रतिस्पर्धा गर्न नेपाली २३ वर्षमुनिको (यू-२३) फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली ताजकिस्तान प्रस्थान गरेको हो ।

टोलीको प्रशिक्षकमा बाल गोपाल महर्जन छन्। नेपाली युवा टिममा माल्दिभ्सको मालेमा शनिवार सम्पन्न साफ च्याम्पियनसिपमा उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी समेत छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरहरु नितिन थापा, सुरजज्यू ठकुरी,  आयुष घलान र फरवार्ड मनिष डाँगी टोलीमा छन्।

राष्ट्रिय टोलीका ६ खेलाडीले बाँकी खेलाडीसँगै महर्जनसँग प्रशिक्षण गरेका छैनन्। जसले गर्दा समन्वय अभाव हुन सक्ने प्रशिक्षक महर्जनले बताए । तर सिनियर टोलीबाट खेलिसकेका खेलाडी भएकाले टिममा घुलमिल हुन लामो समय नलाग्ने उनको भनाइ छ ।

नेपालले प्रतियोगिताको तयारी स्वरुप ताजिकिस्तानमै एक मैत्रीपूर्ण खेल खेल्ने छ । एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरसम्म हुनेछ । समूह ‘बी’ मा रहेको नेपालले ताजिकिस्तानसँगै इरान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले कार्तिक ८ गते इरान, कात्तिक ११ गते ताजिकिस्तान र लेबनानसँग कात्तिक १४ गते प्रतिस्पर्धा गर्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो। समूह केबाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली छन् ।

त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन्। एसिया कप प्रतियोगिता भने सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ। छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछन्।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोट चरणबाटै बाहिरियो । प्रतियोगिताको पाँचौँ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १-१ पटक उपाधि जितेका छन्।

नेपाली टोली

गोलरक्षक : अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर : अभिषेक लिम्बु, शिव गुरुङ, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल

मिडफिल्डर :  नितिन थापा,  सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी ।

फरवार्ड : मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *