अभ्यास खेलमा भारत र अस्ट्रेलिया विजयी

काठमाडाैँ । टी-२० विश्वकप अघिको वार्मअप (अभ्यास) खेलमा भारतले इंग्ल्यान्डलाई पराजित गर्दा अर्को अभ्यासमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई पराजित गरेको छ । भारतका लागि ओपनर केएल राहुल र ईशान किशनले उत्कृष्ट ब्याटिङ गरे ।

भारतले जितको लागि १ सय ८९ रनको बलियो लक्ष्य पछ्याएको थियो । जहाँ उसले १९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । भारतका युवा ओपनर ईशान किशनले ४६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ७० रन बनाउँदा रिटायर्ट हर्ट भए । त्यस्तै केएल राहुलले ५१ रन बनाए ।

ओपनर राहुल र किशनले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कप्तान विराट कोहली ११ रन बनाएर आउट हुँदा हार्दिक पान्ड्या १२ रनमा अविजित रहे । विकेटकिपर ऋषभ पन्त २९ रनमा अविजित रहे । इंग्ल्यान्डका मार्क वुड, डेविड विल्ली र लियाम लिभिङस्टोनले १-१ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनायो । इंग्ल्यान्डका लागि जोनी ब्यरिस्टोले सर्वाधिक ४९ रनको योगदान दिए । मोईन अली ४३ रनमा अविजित रहे । डेविड मलान १८ रनमा बोल्ड भए ।

भारतका मोहम्मद शामीले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराह र राहुल चाहरको नाममा समान १-१ विकेट लिए । दुवै टोलीले टी-२० विश्वकप अघि तयारीको लागि वार्मअप खेल खेलेका हुन् ।

भारतले दोस्रो वार्मअप खेलमा बुधबार अस्ट्रेलियासँग खेल्ने छ । बुधबारनै इंग्ल्यान्डले वार्मअप खेलमा न्युजिल्यान्डको सामना गर्ने छ । भारत सुपर १२ को समूह बी र इंग्ल्यान्ड समूह ए मा छन् । भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग खेल्नेछ । इंग्ल्यान्डले शनिवार वेस्टइन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ ।

अस्ट्रेलियाको रोमाञ्चक जित
अभ्यास खेल अन्तर्गत नै भएको अर्को खेलमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाले ३ विकेटको जित निकालेको छ । न्युजिल्यान्डले दिएको १५८ रनको लक्ष्य अन्तिम बल बाँकी हुँदा अस्ट्रेलियाले ७ विकेट गुमाएर पुरा गर्‍यो ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनको ३७ रन सर्वाधिक रह्यो । त्यस्तै ओपनर मार्टिन गुप्टिलले ३० तथा ड्यारि मिचेलले ३३ रन बनाएका थिए । त्यस्तै जेम्स निशमले ३१ रन बनाए । अस्ट्रेलियाका केन रिचर्डसनले ३ विकेट लिँदा आदम जाम्पाले २ विकेट लिँदा मिचेल स्टर्क र एस्टन अगरले समान १-१ विकेट लिए ।

मध्यम स्कोर पछ्याएको अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए । त्यस्तै कप्तान एरोन फिन्चले २४ रन बनाउँदा मिचेल मार्सले २४ रन बनाए । त्यसबाहेक मार्क्स स्टोइनिसले २८ रन तथा एस्टोन अगरले २३ रन बनाए । मिचेल स्टार्क १३ रनमा अविजित रहँदा उनलाई जो लिगलिसले ८ रनमा साथ दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *