४ बलमा ४ विकेट लिँदै आयरल्यान्डका कर्टिसले रचे इतिहास

काठमाडौँ । ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको तेस्रो क्वालिफायरमा आयरल्यान्डका तीव्र गतिका बलर कर्टिस कमफेरले इतिहास बनाएका छन् । उनले नेदरल्यान्ड्सँगको खेलमा उनले चार बलमा चार विकेट लिँदै सनसनीपूर्ण प्रदर्शन गरे।

उनले दसौँ ओभरको दोस्रो बलमा कोलिन एकरमानलाई क्याच आउट गराउँदै पहिलो विकेट लिँदा तेस्रो बलमा रायन टेन डोसच्याटलाई एलबीडब्ल्यू धरापमा पारे ।

यस्तै अर्को बलमा स्कट एडवार्ड पनि उनको बलमा एलबीडब्ल्यूकै सिकार भए। ओभरको पाँचौँ बलमा रोएलोफ भान डर मेरविलाई बोल्ड गर्दै उनले चार विकेट लगालग लिए।

विश्वकपमा दोस्रो ह्याट्रिक

कर्टिसले आयरल्यान्डका लागि ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रियमा पहिलो ह्याट्रिक गर्दा ट्वेन्टी ट्वेन्टी विश्वकप इतिहासमा भने ह्याट्रिक लिने दोस्रो खेलाडी बनेका छन्। कर्टिसभन्दा अघि २००७ को ट्वेन्टी ट्वेन्टी विश्वकपमा अस्ट्रेलियाका ब्रेट लीले ह्याट्रिक लिएका थिए। समग्र टी-२० क्रिकेट इतिहासमा भने यो १९ औँ ह्याट्रिक हो।

यसैबीच, आयरल्यान्डले कसिलो बलिङ गरेपछि नेदरल्यान्ड १०६ रनमा नै समेटियो। उसका ओपनर ब्याट्सम्यान म्याक्स ओडोडले सर्वाधिक ५१ रन बनाए। आयरल्यान्डका मार्क एडेयरले पनि ३ विकेट लिए।

१०७ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको आयरल्यान्डले सहज जित हात पार्‍यो। उसले १५ओभर १ बलमा ३ विकेट गुमाएर सहज रुपमा ७ विकेटको जित निकाल्यो। टिमको जितमा ग्यारेथ डेलानीले ४४ रन बनाउँदा ओपनर पल स्ट्रलिङले ३० रनको अविजित इनिङ खेले।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *