झरीले धानबालीमा क्षति, उत्पादन घट्ने

धनगढी । कैलालीमा वर्षाले भित्र्याउन लागिएको धानबालीमा क्षति पुर्‍याएकाे छ । आइतबार बेलुकादेखि आएको वर्षाले जिल्लाका विभिन्न ठाउँमा काटेर थुपारिएकाे धानबालीमा क्षति गरेको हो ।

वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि यहाँका किसान चिन्तित भएका छन् । काटेर खेतमै थुपारिएको एक बिघामा लगाएको धान पूर्णरूपमा डुबानमा परेको जिल्लाको कैलारी गाँउपालिका वडा नं. ३ का किसान नरेन्द्र चौधरीले बताए । उनले धानबालीमा क्षति पुगेपछि यस वर्ष उत्पादनमा कमी हुने बताए । ‘पानीले भित्र्याउनका लागि खेतमै सुकाउन राखिएको धान डुबायो,’ उनले भने, ‘अब उत्पादनमा पनि कमी आउने भयो, चामल पनि राम्रो नहुने भयो ।’

यस्तै, धनगढी उपमहागनरपालिका–८ का किसान छोटेलाल रानाको तीन बिघाभन्दा बढी क्षेत्रफलमा काटेर थुपारिएको धान पनि पानी पूर्णरूपमा डुबाएको छ । ‘काटेर केही सुकाउन राखिएको थियो । केही मुठा पारेर राखेका थियौँ,’ उनले भने, ‘रातारात परेको पानीले पूरै डुबानमा पारिदियो ।’

पानीले भिजाएको धान फेरि सुकाउनुपर्ने झन्झट थपिएको छ भने उत्पादनमा कमी हुने चिन्ता किसानहरूलाई छ । कैलारीकै हंश चौधरी पनि एक बिघामा काटेर थुपारेको धान पानीले पूरै डुबाएपछि चिन्तित बनेका छन् । ‘हिजो साँझदेखि परेको पानीले काटेर खेतमै थुपारेको धान पूरै डुबेको छ,’ उनले भने, ‘आधै धान मात्रै काम लाग्ने भएको छ ।’

किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धानबालीलाई नोक्सानी पुर्‍याएकाे कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज शर्माले बताए । बेमौसमी पानीका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशतसम्म धान उत्पादनमा कमी आउने उनले बताए ।

उनकाअनुसार अघिल्लो वर्ष कैलालीमा २ लाख ८० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्षपनि समयमै पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको भएपनि भित्र्याउने बेला वर्षाले क्षति पुर्‍याएपछि उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

उत्पादन भएको धानबालीसमेत राम्रो मूल्य नपाउन सक्ने भएकाले किसानहरू प्रत्यक्ष मारमा पर्ने केन्द्रका प्रमुख शर्माले बताए । ‘धान भिजेका कारण कालो हुने, बिउका लागि उपयुक्त नहुने हुन्छ,’ उनले भने, ‘व्यापारीले पनि यस्तो धानको राम्रो मूल्य दिँदैनन् । यहाँका करिब ७० देखि ८० प्रतिशत किसानले धान काटिसकेका छन् ।

कृषि ज्ञान केन्द्र कैलालीकाअनुसार यहाँ करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *