साफ च्याम्पियनसिप : नेपालको उपाधि सपनामा भारतको तगारो

काठमाडौँ । ऐतिहासिक रूपमा १३ औँ साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल अन्ततः उपाधि जित्ने सपनाबाट भने विमुख भएको छ। शनिवार माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भयो।

नेपाललाई पराजित गरेसँगै भारतले भने आठौँ पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल रह्यो। नेपालले ऐतिहासिक रूपमा जारी साफमा पहिलो पटक फाइनलमा स्थान बनाएको थियो। राउण्डरोविन लिगका आधारमा प्रतियोगिताको लिग चरणमा नेपालले पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।

अर्को खेलमा भारतसँग पराजित भएको नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो। भारतले भने सुरुवाती दुई बराबरी पछि नेपाल र माल्दिभ्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारतसँग नेपाल २०१३ पछि जितविहीन रहँदै आएको छ ।

यस पटक राउन्ड रोबिन चरण र फाइनलमा गरी दुई पटकको मौका पाए पनि नेपालले जित हात्पार्न सकेन । यो वर्ष मात्रै नेपाल भारतसँग ४ खेलमा ३ खेलमा पराजित भयो भने एक खेल बराबरी गर्न सफल भयो। दोस्रो हाफमा निरीह नेपाल भारत विरुद्ध नेपालले पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै बराबरीमा रोके पनि दोस्रो हाफ भने बिर्सन लायक रह्यो।

भारतका लागि सुनिल क्षेत्रीले ४९ औ मिनेटमा प्रितम कोटलको क्रसलाई आकर्षक हेड मार्फत पहिलो गोल गर्दा एक मिनेट पछि नै सुरेश सिंहले यासिरको पासमा दोस्रो गोल गरे। नेपाल दुई गोलले पछि परेसँगै पूर्ण रूपमा दबाबमा परेको थियो। भारत भने निरन्तर हाबी भयो।

उसले अन्ततः अतिरिक्त समयमा थप एक गोल थप्दै ३-० को सहज जित निकाल्यो। भारतका लागि सहाल अब्दुल समादले नेपालका चार डिफेन्डर बिट गर्दै दर्शनीय गोल गरेका थिए। यसअघि नेपाललाई समुहचरणमा १-० ले हराएको भारतले फाइनलमा भने कुनै गल्ती गरेन जारी साफमा नेपाल र भारत सहित ५ राष्ट्रको सहभागिता थियो।

जहाँ राउन्ड रोबिन लिगको आधारमा शीर्ष दुईमा रहँदै नेपाल र भारतले फाइनलमा स्थान बनाएका थिए। साफ च्याम्पियनसिपको उपाधि भारतले आठौँ पटक जित्दा माल्दिभ्सले २ पटक तथा बंगलादेश, श्रीलंका तथा अफगानिस्तानले समान १-१ पटक उपाधि जितेका छन्।

अफगानिस्तान २०१५ पछि साफबाट बाहिरिएको छ। यो प्रतियोगिताको उपाधि नेपालसँगै पाकिस्तान र भुटानले भने एक पटक पनि जित्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *