सिनियर राष्ट्रिय टोलीमा नेपाल भर्सेस् भारत : यस्तो छ हार, जित र बराबरको तथ्याङ्क 

काठमाडौँ । साफ फुटबलको २८ वर्षे इतिहासमा आज नेपाल र भारत पहिलो पटक फाइनलमा भिड्दै छन्। भारतसँग नेपालका लागि यो फाइनल २३ औँ प्रतिस्पर्धा हो । यस अगाडिका २२ खेलमा नेपालले भारतसँग दुई खेलमा जित निकालेको छ भने पाँच खेल बराबरीमा सकिएका थिए । बाँकी पन्ध्र खेलमा भारतले जित निकालेको छ ।

सन् १९९३ को ढाकामा भएको साफमा नेपालले भारतलाई पेनाल्टीमा ४–३ गोल अन्तरले हराएको थियो भने सन् २०१३ को साफमा २–१ अन्तरले जितेको थियो । सन २०१३ यता नेपालले भारतलाई हराउन सकेको छैन । सन् २०१३ पछिका आठ खेलमा नेपालले भारतसँग छ खेलमा हार बेहोरेको छ भने दुई खेल बराबरीमा सकिएका छन् ।

जारी साफ च्याम्पियनमा पनि नेपालको तगारो भारत नै भएको छ । बंगलादेशसँग १–१ बराबरी खेलेर फाइनलमा पुग्दा सम्म नेपाल च्याम्पियनको चार्ट टपर थियो । तर, भारतले आयोजक माल्दिभ्सलाई ३–१ ले हराएपछि नेपालको अङ्क भारत भन्दा एक कम भएर सातमा खुम्चियो । अर्को रोचक पक्ष अहिले फाइनल आउँदासम्म नेपालले हार बेहोरेको एक मात्रै टोली भारत हो ।

भारतसँग नेपालले १–० गोलको हार बेहोरेको छ । नेपाल विरुद्धको जितमा भारतका कप्तान सुनिल क्षेत्री नायक बने । पहिलो एक गोल अन्तरमा उनैले गोल गरे । साबिक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदा पनि भारतको दुई गोल क्षेत्रीकै नाममा छ । नेपाल पुर्ख्यौली घर भएका क्षेत्री नेपालको लागी प्रमुख तगारो छन् ।

उनले बंगलादेश र श्रीलंकासँग बराबरी गरेर अङ्क तालिकामा पछि परेको भारतलाई जोगाएका थिए । सन २०१८ को पछिल्लो साफ च्याम्पियनमा भारतले क्षेत्रीलाई आराम दिएकोले माल्दिभ्स विजयी बनेको थियो । क्रिस्चियानो रोनाल्डोको ११५ तथा मेसीको ८० अन्तर्राष्ट्रिय गोल गर्ने रेकर्डमा तेस्रो स्थानमा आउँछन् क्षेत्री । उनले हालसम्म ७९ गोल गरेका छन् ।

नेपाल भन्दा ६१ अङ्क माथिको फिफा वरीयता भएको भारतको वरीयता १०७ छ  भने नेपालको १६८ । तथ्याङ्कले नेपाल भन्दा बलियो देखिए पनि फुटबल हो फुटबलमा सधैँभरि इतिहास र अङ्कले मात्रै काम गर्दैन । जस्तो कि कोपा अमेरिका २०२१ मा ब्राजिललाई हराएको अर्जेन्टिना ब्राजिल भन्दा मुनि थियो ।

ब्राजिल दोस्रो वरियतामा हुँदा अर्जेन्टिमा छैटौँ थियो । यस्तै युरोकप २०२० को विजेता इटाली पनि उपविजेता इङ्गल्यान्ड भन्दा मुनि नै थियो । इङ्गल्यान्ड तेस्रो वरियतामा हुँदा इटाली पाँचौँमा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *