आइपिएल फाइनल: चेन्नई र कोलकाता खेल्दै, कसले जित्ला उपाधि ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा आज चेन्नई सुपर किंग्स र  कोलकाता नाइट राइडर्सबीच प्रतिष्पर्धा हुदै छ । लिग चरणमा दोस्रो स्थानमा रहेको चेन्नई र चौथो स्थानमा रहेको कोलकाता फाइनलमा पुगेका हुन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा दुबईमा सुरु हुनेछ ।

चेन्नईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गरेर फाइनलमा पुगेको हो भने कोलकाताले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई १२ सिजन खेल्दै योसहित नवौँ पटक फाइनलमा पुगेको छ । यस अघि २०१०, २०११ र २०१८ मा गरी चेन्नईले आइपिएलको उपाधि तीन पटक जितेको छ । साथै चेन्नई सबैभन्दा बढी आइपिएलको फाइनल खेल्ने टिम पनि हो ।

त्यस्तै यसअघि २०१२ र २०१४ मा गरी दुई पटक आइपिएलको उपाधि जितेको कोलकाता भने योसहित तेस्रो पटक आइपिएलको फाइनल खेल्दै छ ।

यस फाइनल खेलमा दुवै टिमका केही खेलाडीको प्रदर्शन हेर्न लायक हुने छ । जसमा चेन्नईका लागि रुतुराज गायकवाड रहेका छन् । उनले यस सिजनमा अहिलेसम्म १५ खेलमा एक शतक र ४ अर्ध शतकसहित ६०३ रन बनाएका छन् । उनी सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा रहेका छन् ।

त्यस्तै चेन्नईका बलरमा शार्दुल ठाकुरको प्रदर्शन हेर्न लायक हुने छ । उनले यस सिजनमा १५ खेलमा १८ विकेट लिएका छन् । उनी टी-२० विश्वकप खेल्ने टिममा पनि समावेश भएका छन् ।

त्यस्तै कोलकाताका लागि शुभमन गीलले यस सिजनमा राम्रो योगदान गरेका छन् । उनले यस सिजनका १६ खेलमा ४२७ रनको योगदान गरेका छन् । त्यस्तै युवा खेलाडी वेंकटेश अय्यरले पनि कोलकातालाई गीलसँग मिलेर राम्रो सुरुवात दिलाएका छन् । उनले यस सिजनमा ३ अर्ध शतकसहित ३२० रनको योगदान गरेका छन् ।

त्यस्तै कोलकाताका लागि बलर बरुण चक्रवर्तीको प्रदर्शन हेर्न लायक हुने छ । उनले यस सिजनका १६ खेलमा १८ विकेट लिएका छन् ।

निष्कर्षमा दुई टिमबीच फाइनलमा उपाधिका लागि कडा प्रतिस्पर्धा हुने निश्चित छ । कुशल रणनीतिकार मानिने धोनीको चेन्नईलाई उत्कृष्ट विजयी लयमा देखिएको कोलकाताले कडा टक्कर दिने सजिलै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *