दसैँ र माओवादी !

काठमाडौँ ।

मन्त्रीज्यू टीका लगाउनुहुन्छ कि हुन्न ?
लगाउँछु । यसपाली मेरो दसैँ यतै (काठमाडौँ) हुन्छ ।

टीका लगाउन त अप्ठेरो लाग्दैन होला… ?
(हल्का मुस्कान)… हैन जनयुद्धको समयमा दश वर्ष टीका लाइएन । शान्ति प्रक्रियामा आएपछि टीका लगाउन थालिएको हो । लगाउँछौँ । (माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका एक मन्त्रीसँगको अनौपचारिक कुराकानी)

OOO

तत्कालीन सशस्त्र युद्धमा माओवादी नेताले दसैँ मनाउँदैनथे । शान्ति प्रक्रियामा आएपछि धेरैले केही वर्षसम्म दसैँको टीका लगाएनन् । माओवादी ‘विद्रोह’ का सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यही गरे ।

तर, केही वर्षअघि प्रचण्डका छोरा प्रकाशले भान्जाभान्जीसहित पूरै परिवारले दसैँको अवसरमा टीका लगाएको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा त्यो ‘गरम मसला’ हुन पुग्यो । सञ्चारमाध्यमहरूले पनि यो विषयलाई महत्वका साथ पस्किए । प्रचण्डले टीका लगाउनु ठीक कि बेठीक भन्नेमा बहस नै चल्यो ।

|प्रकाश दाहालले सार्वजनिक गरेको तस्बिर। क्रमशः (बायाँ) प्रकाश दाहाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रकाशपत्नी बिना मगर|

२२ वर्षदेखि दसैँ नमान्ने र टीका नलगाउने परम्परामा क्रमभङ्गता गरेका प्रचण्डको निधारमा दसैँको रातो टीका टल्किएपछि धेरैले धेरैथरी कोणबाट हेर्नु वा बहस गर्नु स्वाभाविक पनि थियो । किनभने, सशस्त्र युद्धको समयमा माओवादीहरु दसैँलाई छिछि–दुरदुर गर्दथे । तर, टीका लगाएपछि प्रचण्डले दसैँ मान्दैनन् भन्दै उनी र तत्कालीन उनको दलको धर्म, संस्कृति र आचरणबारे प्रश्न/शंका गर्ने नागरिकहरू भने सकारात्मक हुन पुगे ।

प्रचण्डलाई देखेर दसैँ मनाउन छोड्ने र प्रचण्डले दसैँको टीका लगाउन थालेपछि फेरि टीका लगाउन शुरू गर्ने उनको दलका नेता कार्यकर्ताको संख्या पनि धेरै छ । माओवादी सशस्त्र युद्धका अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले त त्यसभन्दा अघिदेखि नै बाको हातको टीका लगाउन थालेका हुन् ।

|बुवा भोजप्रसाद भट्टराईको हातबाट दसैँको टीका थाप्दै डा. बाबुराम भट्टराई। साथमा बाबुरामपत्नी हिसिया यमी । तस्बिरः फाइल|

सिन्धुलीका वीरबहादुर पौडेल क्षेत्री (नाम परिवर्तन) ले २०५३ सालबाट दसैँ/तिहार मनाउन छोडे । ०५१ सालबाट माओवादीमा लागेका उनी र उनीजस्तै अरुले पनि दसैँ/तिहार तिहार मनाउन छोडेका थिए । माओवादीप्रति आस्था राख्नेहरुले पनि त्यसै गरे ।

अहिले हिजोको जस्तो घर छोड्नपर्ने, जंगलमा बस्नुपर्ने वातावरण छैन । सहज वातावरणमा आ-आफ्ना किसिमले आफूले चाहेअनुसार दसैँ मनाउन सक्छन् ।

वीरवहादुरका दुई छोरा र एक छोरी माओवादीमा लागे । माओवादीले देशमा परिवर्तन ल्याउँछ भन्ने उनलाई लागेको थियो ।

यही आशा र विश्वासमा उनले चाडपर्व मनाउन छोडे । श्राद्ध गर्न छोडे । आफन्तले किन यस्तो गरेको भन्दा वीरबहादुर भन्थे— ‘प्रचण्डले चाडपर्व मनाउँदैनन् हामी किन मनाउने ? चाडपर्व मनाउने, श्राद्ध गर्ने यस्ता कार्य कम्युनिष्टले गर्दैनन् । यस्तो काम गर्नेहरु यथास्थितीवादीहरु हुन् ।’ तर, अहिले परिस्थिति बदलियो । वीरबहादुरका तीन सन्तानका परिवार अहिले काठमाडौँमा बस्छन् । वीरबहादुर गाउँमै छन् । अहिले उनको परिवार दसैमा भेटघाट गर्छन, टीकाटालो गर्छन र दसैँ मनाउँछन् ।

उनका एक छोरा भन्छन्— ‘जनयुद्धभरी टीकाटालो हुने कुरा भएन । शान्ति प्रक्रियापछि पनि केही वर्ष लगाइएन । हामीले भन्दा पनि नातीहरूको कारणले बुबाले टीका लगाउन थाल्नुभयो । सबैले लगाउँछन्, हामी मात्र किन नलगाउने ? प्रचण्डले त लगाउन थाले भन्ने भयो ।’

पहिले किन ? अहिले किन ?

यसवर्ष पनि प्रचण्डले आफ्नै निवास खुमलटारमा दसैँ मनाउँदैछन् । तत्कालीन माओवादीका अधिकांश नेताहरूले पनि दसैँ मनाउँदैछन् । तत्कालीन एमालेसहितका धेरैजसो कम्युनिष्ट नेताहरुले पनि दसैँ मनाउँदै आएका छन् ।

एक समय निकै उग्र र चर्का कुरा गरेपनि केही वर्षपछि कम्युनिष्ट दलका सबैजसो नेताहरू लोकतान्त्रिक मूलधारमा आएका छन् । पछिल्लो उदाहरण माओवादी आन्दोलन र त्यो बेलाका नेताहरुको अभिव्यक्ति र हालको अभिव्यक्तिले नै प्रष्ट पार्छन् ।

उग्र भनिएका कम्युनिष्ट नेताहरू अर्थात् तत्कालीन माओवादी नेताहरु प्रचण्ड, बाबुरामहरू प्रजातान्त्रिक अभ्यासमा छन् । अर्थात् जनताको मन जितेर राजनीति गर्ने राजनीतिक संकारमा छन् । यो संकार अवलम्बन गरेपनि ती जनताको संस्कृति कुल्चेर हुन्न भन्ने चेतना आएको हुनुपर्छ । यही कारण हामी सबै धर्म संस्कृतिको सम्मान गर्छौँ भन्ने उनीहरूका धारणा आइरहेका छन् ।

अहिले पनि छिटफुट त्यस्ता समूह देखिन्छन्, जो चाडपर्वको औचित्यमाथि प्रश्न उठाउँछन् । एकले अर्कोको संस्कृतिको सम्मान गर्र्ने बहुल संस्कृतिको धनी भनेर चिनिने वा चिनाइने देशमा यस्ता गतिविधि किन हुन्छन् वा भए होलान् ? जिज्ञासा स्वाभाविक रूमा उठ्छ ।

माओवादी नेता दिनानाथ शर्मा पार्टीले कहिल्यै नीतिगत निर्णय गरेर दसैँ नमनाउने निर्णय नगरेको र तत्कालीन परिस्थितिमा दसैँ मनाउने, आराम गर्ने, मोजमस्ती गर्ने, खसी काट्ने वातावरण नै नभएको जिकिर गर्छन ।

‘घर परिवार छोडेर कहाँ कहाँ वन जंगलमा बस्ने मान्छेले कसरी दसैँ मनाउने ? त्यसकारण त्यो बेला हामीलाई परिस्थितिले दशैं मनाउने वातावरण दिएन’, उनी भन्छन्, ‘अहिले हिजोको जस्तो घर छोड्नपर्ने, जंगलमा बस्नुपर्ने वातावरण छैन । सहज वातावरण छ । त्यसकारण सहज वातावरणमा आ–आफ्ना किसिमले आफूले चाहेअनुसार दसैँ मनाउन सक्छन् ।’

त्यसो हो भने पनि सशस्त्र युद्ध टुंग्याएपछिका धेरै वर्ष किन फेरि उनीहरूले दसैँ मनाएनन् त ? स्वयम् प्रचण्डले २२ वर्षसम्म दसैँको टीका बहिष्कार किन गरे होला त ? यस्ता प्रश्नको उत्तर दिन भने माओवादी नेताहरू तयार हुँदैनन् ।

‘हाम्रा संस्कृतिहरुलाई कसरी विकसित गर्ने, उन्नत गर्ने भन्ने कुरामा त्यसको प्रगगिशील पक्ष, वैज्ञानिक पक्षलाई आत्मसाथ गर्र्नुपर्छ । कतिपय रुढीवादी अन्धग्रस्त छन् । त्यसलाई त्यही ढङ्गले व्याख्या विश्लेषण गर्नुपर्छ’, नेता शर्मा भन्छन्, ‘त्यसकारण निरपेक्ष रूपमा कुनै चिजहरुलाई छोड्ने, निरपेक्ष रुपमा कुनैपनि चिजहरूलाई ग्रहण गर्नेभन्दा पनि सापेक्ष रूपमा त्यसको वैज्ञानिक महत्व के हो, त्यसको परम्परा कसरी चल्यो । भन्ने बुझेर संस्कृतिलाई विकसित गरेर लिएर जाने अहिलेको आवश्यकता हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *