भारतसँगको हारले बढाएको ढुकढुकी

काठमाडौँ । नेपाली पुरूष फुटबलका लागि इतिहास बनाउने अहिलेजस्तो स्वर्णिम अवसर यसअघि शायदै आएको थियो । माल्दिभ्समा चलिरहेको साफ च्याम्पियनसीपमा नेपाल ६ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ । तर शीर्ष स्थानमा भएपनि नेपालको ढुकढुकी भने बढेको छ ।

अन्तिम खेल अगावै फाइनल पुग्ने नेपालको सपना भारतले पुरा हुन दिएन । खेलको अन्तिमतिर गोल गर्दै भारतले नेपाललाई हरायो । नेपालका लागि कम्तिमा बराबरी चाहिएको खेलमा पराजित भएपछि नेपालको ढुकढुकी बढेको हो ।

भारतका लागि जित अनिवार्य थियो किनभने सर्वाधिक सफल भारत बराबरी या पराजयले फाइनल पुग्न असमर्थ हुने थियो । यद्यपि नेपाललाई पराजित गरेर भारतले साफ च्याम्पियनसीपको फाइनल पुग्ने आफ्नो सम्भावना कायमै मात्र राखेन‚ लिग चरणको रोमाञ्चकता पनि उत्कर्षमा पुर्‍यायो ।

अब बुधबारका दुई खेलले चार टिमकै भाग्य तय गर्नेछ ।

फाइनल पुग्न नेपाललाई केही सजिलो त छ‚ तर ढुक्क हुने अवस्था छैन । प्रतियोगितामा नेपालले भोली बंगलादेशसँग खेल्दैछ । यो खेल जिते वा बराबरीमा सकिए नेपाल प्रतियोगिताको फाइनल पुग्नेछ ।

साफ इतिहासमा पहिलो पटक राउन्ड रोविनका आधारमा भइरहेको प्रतियोगितामा आ-आफ्ना खेल जित्दै शीर्ष २ मा पुग्नु चारै टिमको एकमात्र लक्ष्य हुनेछ । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । बाँकी चारै टिमको फाइनल पुग्ने सम्भावना कायमै छ ।

सहभागी ५ राष्ट्रहरू सबैले ४ खेल खेलिसकेका छन् । जसमा श्रीलंकाबाहेकका ४ टोली उपाधि दौडमा छन् । बुधबार हुने दुई खेलले फाइनल पुग्ने दुई टोलीको तय हुनेछ ।

समान ६ अंकका साथमा नेपाल शीर्षस्थानमा छ भने माल्दिभ्स दोस्रो स्थानमा छ । ५ अंकका साथ भारत तेस्रो, र ४ अंकसहित बंगलादेश चौथो स्थानमा छ ।

लिग चरणमा सेमिफाइनल हुँदैन‚ तर अन्तिम दिन हुने खेल सेमीफाइनलभन्दा कम अर्थपूर्ण छैनन् । नेपाल र बंगलादेशको खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा सुरु हुनेछ । भारत र माल्दिभ्स राति ९:४५ बजे खेल्नेछन् ।

पहिलो खेलमा जित हासिल पार्ने टीमले फाइनल यात्रा पक्का गर्दा अर्को खेलबाट अर्को एक टीमको टुंगो लाग्ने समीकरण छ । नेपाल र माल्दिभ्स समान अर्थात् बराबरीले पनि अघिल्लो चरणमा पुग्ने अवस्थामा छन् भने भारत र बंगलादेशलाई जितको दबाब रहनेछ ।

बंगलादेशलाई हराए नेपाल ९ अंकसहित फाइनल यात्रा पुग्दा बराबरी भएको खण्डमा नेपाल ७ अंकसहित अन्तिम दुईमा पुग्नेछ । तर, बंगलादेशसँग पराजित भएको अवस्थामा भने नेपाल बाहिरिनेछ । बंगलादेश फाइनल पुग्नेछ ।

अर्को खेलमा माल्दिभ्स विजयी भएको अवस्थामा ९ अंकसहित फाइनल पुग्नेछ । बराबरीमा रोकिए पनि समग्रमा माल्दिभ्स ७ अंकसहित फाइनल पुग्नेछ। भारतलाई भने फाइनल पुग्नका लागि जितबाहेकको विकल्प छैन । भारत विजयी भएमा भने ८ अंकसहित फाइनल पुग्नेछ ।

जारी साफ च्याम्पियनसीपमा भारत एकमात्र अपराजित टोली हो‚ तर उसको अपराजित यात्रा भएपनि फाइनल संकट अभुतपुर्व छ । अन्तिम खेलमा बलियो माल्दिभ्सको सामना गर्नुपर्दा भारत स्वभाविक दबाब हुनेछ । साफ च्याम्पियनसीपको इतिहासमा भारत सर्वाधिक ७ पटक च्याम्पियन बन्दा माल्दिभ्स २ र बंगलादेशले १ पटक उपाधि जितेका छन् । नेपाल भने पहिलो फाइनलको खोजीमा नै छ ।

अघिल्ला १२ संस्करणमा ५ पटक सेमीफाइनलमा पुगेको नेपाल यो पटकको अवसर चुकाउन चाँहँदैन‚ तर लगातार दुई खेलको जितले उत्साही नेपाललाई भारतसँगको हारले स्वभाविक रुपमा ’ब्याक फुट’मा पुर्‍याएको छ । नेपाली समर्थक र सारा देश दसैँको खुसीमा झुमिरहँदा माले यात्रामा निस्किएको राष्ट्रिय फुटबल टीमले स्वभाविक रुपमा फुटबल प्रेमीको ढुकढुकी बढाइदिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *