पूर्वराजा ज्ञानेन्द्रको कडा टिप्पणी

राजतन्त्रबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजतन्त्र सान्दर्भिक हुँदैन : पूर्वराजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्रबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजतन्त्र सान्दर्भिक नहुने बताएका छन् । दसैंको अवसरमा भिडि‌ओ र विज्ञप्तिमार्फत शुभकामना दिँदै शाहले अहिलेको अवस्थाबार असन्तुष्टि व्यक्त गरेका छन् ।

विशेष परिस्थितिमा आफू सत्ताबाट हट्नुपरेको उल्लेख गर्दै पूर्वराजा शाहले त्यसयताका सरकारका गतिविधिले आम नागरिकलाई खुसी बनाउन नसकेको र उनीहरू अहिले त्यो असन्तुष्टि व्यक्त गर्न थालेको उल्लेख गरेका छन् ।

‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आबोध हामीले गरेका छौँ‚’ पूर्वराजा शाहले भनेका छन् ।

राजतन्त्र हटाएपछिको परिवर्तनको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न नसकेको दाबी गर्दै उनले अहिलेको अवस्थामा शिक्षा तथा स्वास्थ्यको समेत व्यापारिकरण र भ्रष्टाचार बढेको बताएका छन् । उनले भनेका छन्‚ ‘दुर्भाग्यवस शिक्षा तथा स्वास्थ्यका व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण, प्रशासनिक र राजनीतिक पेसाले सीमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ ।’

अहिलेको अवस्थाप्रति असन्तुष्ट रहँदै नागरिकहरू बोल्न थालेको र त्यसलाई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार गराएको रुपमा आफूले बुझेको उनले बताएका छन् । उनले नेपालको अहिलेको अवस्थाले आफ्नो मन पोलेको पनि उल्लेख गरेका छन् ।

देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगुटमा अल्झिएको पूर्वराजाको टिप्पणी छ ।

विज्ञप्तिको पूर्णपाठ-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *