सन्दीप बने ‘प्लेयर अफ द मन्थ’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा लेग स्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) को मनोनयन गतसाता सार्वजानिक गरेको थियो ।

सन्दीपसहित बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटसेम्यान जसकरण मल्होत्रा आईसीसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनमा परेका थिए । उनी अहमद र मल्होत्रालाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन् ।

विश्वकप लिग-२ का लागि जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले गतमहिना ओमान भ्रमण गर्दा सन्दीपको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

उनले ६ खेलमा १८ विकेट लिएका थिए । आईसीसी विश्वकप लिग-२ र पपुवा न्युगिनीसँग दुई अभ्यास एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीप आईसिसीको प्लेयर अफ द मन्थको मनोनयनमा पर्न सफल रहेका थिए ।

उनी आईसिसीको प्लेयर अफ द मन्थको मनोयनमा पर्ने दोस्रो नेपाली खेलाडीसमेत हुन् । यसअघि गत वैशाखमा ओपनर कुशल भुर्तेल आइसीसीको मनोयनमा परेका थिए । तर उक्त उपाधि भने पाकिस्तानका कप्तान बाबर आजमले जितेका थिए ।

अष्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध पहिलो पटक टी-२० सिरिज जित्न बंगलादेशका स्पिनर नासुमले उत्कृष्ट प्रदर्शन गरेका थिए । न्युजिल्यान्डविरुद्ध पाँच टी-२० आई सिरिज जिताउँदा उनले ८ विकेट लिएका थिए । त्यस्तै अष्ट्रेलियालाई पाँच टी-२० आई सिरिजमा ४-१ को जित दिलाउँदा पनि उनको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

अमेरिकाका जसकरणले पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी प्रदर्शन गरेका थिए । उनी एक्लैले पपुवा न्युगिनीविरुद्ध १ सय २४ बलमा १ सय ७३ रनको ईनिङ खेल्दै क्रिकेट समर्थकको मन जितेका थिए । साथै उनी एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने खेलाडीसमेत बनेका थिए ।

यो अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा भएको हो । आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको हुन्छ । आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार रहने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *