नेसन्स लिग फाइनल : विश्व च्याम्पियन फ्रान्स स्पेनसँग खेल्दै

काठमाडौँ । नेशन्स लिग फुटबलको फाइनलमा आज मध्यराति विश्व च्याम्पियन फ्रान्स र स्पेन खेल्दैछन् । खेल नेपाली समयअनुसार मध्यराति साढे १२ बजे सुरु हुनेछ ।

मिलानको सानसिरोमा हुने खेलमा युवा खेलाडीले भरिएको स्पेनी टीम पुन: एकपटक उत्कृष्टता प्रमाणित गर्न मैदानमा उत्रनेछ भने फ्रान्स आफ्नो बलियो छवि कायम राख्ने प्रयासमा हुनेछ । दुवै टीम विश्वकपअघिको यो महत्त्वपूर्ण फाइनलमा च्याम्पियन बन्न कुनै कसर बाँकी नराख्ने प्रयासमा हुनेछन् । फ्रान्सले बेल्जियमलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो । स्पेनले युरोपको च्याम्पियन इटालीको कीर्तिमानी ३७ खेलको अपराजित यात्रा अन्त गर्दै फाइनल पुगेको हो ।

स्पेन र फ्रान्स सधैँ प्रतिस्पर्धी टीमका रुपमा रहेका छन् । यी दुई टीमबीच भएका ३५ खेलमा स्पेनले १६ खेलमा जित निकाल्दा फ्रान्सले १२ खेलमात्र जितेको छ । ७ खेल बराबरीमा सकिएका छन् । पछिल्लो पटक यी दुई टीमबीच २०१७ को मार्चमा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन २-० ले विजयी भएको थियो ।

चार वर्षपछि यी दुई टीम आमने सामने हुन लागेका हुन् ।

ग्रिजम्यानको एक सयौँ खेल
फ्रान्सका एन्टोनी ग्रिजम्यानले आज १००औँ खेल खेल्दैछन् । सय क्यापको कोसेढुङ्गा पूरा गर्ने नवौँ फ्रेन्च खेलाडी हुनेछन् । ३० वर्षीय ग्रिजम्यानले यो ऐतिहासिक रात हुने बताए । उनले भने‚ ‘यो मेरा लागि खास रात हुनेछ । सयौँ क्यापको महत्व पक्कै पनि धेरै अर्थपूर्ण हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *