प्रश्नमा पारङ्गत विरोध, अब जवाफ दिने ठाउँमा

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग संसदीय व्यवस्थाको लामो अनुभव छ । प्रजातन्त्र स्थापनापछिको पहिलो संसद् (२०४८ साल)मा उनको सक्रियता निकै प्रशंसनीय थियो । जसको चर्चा अहिले पनि हुने गर्छ ।

उनी संसदमा विपक्षी दलका सांसद थिए । अनि कडा र बेलाबेला उग्र पनि । उनी आफ्नो नामअनुसार नै संसद्‌मा प्रस्तुत हुन्थे । अर्थात् सरकारको विरोध गरिरहन्थे । ३६ महिना लगातार कांग्रेसले सरकार चलाउँदा विरोध खतिवडाको विरोध संसद्‌मा सुन्न लायक थियो । सरकारलाई प्रश्न सोध्ने र गलत निर्णयको विरोध गर्ने थलो संसद्‌मा उनले आफूलाई एक मुखर सांसदका रुपमा उभ्याएका थिए ।

उनी आक्रामक बोलीका कारण कहिलेकाहीँ पार्टीभित्रै पनि अप्ठ्यारोमा परेका छन् ।

त्यसबेला सभामुख दमननाथ ढुंगाना र एमाले सांसद खतिवडाबीच रोचक सवालजवाफ र घोचपेच भइरहन्थ्यो । एकदिन सभामुखको कुर्सीबाट सभामुख ढुंगानाले भने‚ ‘मेरो नाम नै दमन हो ।’ जवाफमा विरोधले भने‚ ‘मेरो पनि नामै विरोध हो, त्यसैले तपाईँ दमन गर्नुहुन्छ भने म विरोध गरिरहन्छु ।’

पहिलेको जस्तो रापताप नभएपनि पछिल्लो प्रतिनिधिसभामा पनि उनले सरकारका गलत कामको आलोचना गरे । सत्तापक्षकै सांसद भएपनि उनी सरकारका गलत निर्णयलाई खबरदारी गरिरहन्थे । उनी सत्तापक्षका सांसद हुन् भन्ने कुरा उनी बस्ने लहरका आधारमा मात्र खुट्याउन सकिन्थ्यो । किनभने संसद्‌मा उनी सधैँ सरकारलाई प्रश्न सोध्थे । तर उनको रापताप पहिलेजस्तो भने थिएन । पहिलेभन्दा धेरै ‘कुल’ भएका खतिवडा त्यतिबेलाको परिस्थिति अहिले नरहेको र कतिपय अवस्थामा उतिबेला आफूले केही गल्ति पनि गरेको महसुस हुने उनी बताउँछन् ।

अब त उनी मन्त्री बनेका छन् । अर्थात् उनी अब प्रश्न सोध्ने होइन‚ जवाफ दिने ठाउँमा पुगेका छन् ।

कस्ता थिए, कस्ता भए ?
२०४८, २०५१ र २०५६ सालमा लगातार चुनाव जितेर संसद्‌मा आएका खतिवडाको प्रस्तुति संसदीय इतिहासमा सधैँ अब्बल मानिन्छ । कुनै बेला खतिवडासँगै, हृदयेश त्रिपाठी, कृष्णगोपाल श्रेष्ठ र जागृतप्रसाद भेटवालका धारणा र प्रश्नको प्रभाव संसद् र संसदीय समितिमा निकै नै पर्थ्यो । उनको अनुपस्थिति २०६४ र २०७० मा खट्कियो । दुवै चुनावमा टिकट नपाएका खतिवडा २०७४ मा पुनः निर्वाचित भएर आए ।

तर, पछिल्लो समयमा संसद्‌मा विरोध खतिवडाको विरोधको स्वर पहिलेजस्तो भने सुनिएन ।

आफ्नै दल एमालेको सरकार भएकाले पनि हुनसक्छ उनी संसद्‌मा विरोध गर्न छाडेर शालीन भए । तर खतिवडाकै शब्दमा भने, पहिले र अहिलेको संसदीय राजनीतिको भिन्नता छ‚ त्यसकारण उनी शालीन भएका हुन् ।

मन्त्री हुनुअघि ‘तपाईँ संसद्‌मा बोल्न छाड्नुभयो नि ?’ भन्ने प्रश्नमा खतिवडा भन्थे, ‘सुरुवाती चरण र अहिलेको संसदीय अभ्यास धेरै फरक छ । पहिले संसद् गरमागरम हुन्थ्यो । घण्टौँ बहस हुन्थ्यो । अहिले त्यस्तो हुँदैन ।’

२०४८ सालमा बहुदल स्थापित भएपछि कांग्रेस र कम्युनिष्टका बीचमा पानी बाराबार थियो । त्यो स्थितिमा एमालेले कांग्रेसविरुद्ध चर्कोसँग कुरा उठाउँथ्यो । बाहिर जति तोडफोड गर्न सकियो‚ त्यति सरकारमाथि नै प्रहार गर्न सकेको जस्तो ठान्थे विरोध पनि । कांग्रेसले एकथरी कुरा गर्नेबित्तिकै खण्डन गर्नैपर्छ भन्ने सोच्ने, खण्डन गरिएन भने हारेको महसुस हुन्छ भन्ने थियो । तर, अहिले विरोध विपक्षीका सबै कुरा सुनेर पचाउन सक्ने स्थितिमा छन् । जहाँको त्यहीँ नै तात्तातै जवाफ दिइहाल्न जाँगर पनि चल्दैन उनलाई । उनी बिस्तारै जवाफ दिँदा हुन्छ भन्ने तहमा पुगे । सरकार अधिनायकवादतर्फ गयो भनेर कसैले भन्यो भने तत्कालै जवाफ फर्काइहाल्दैनन् उनी ।

सम्भवतः उनको यो कार्यकाल मन्त्री भएर नै बित्नेछ । जहाँ उनले प्रश्न वा विरोध होइन‚ अरुले उठाउने प्रश्नको जवाफ दिनुपर्नेछ ।

एमाले फुटेपछि जुर्‍यो अवसर
२०३५ सालदेखि सक्रिय राजनीतिमा लागेका खतिवडा पहिलोपटक २०४८ सालमा सांसद भएका थिए । त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ सालको आमनिर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरबाट निर्वाचित भए ।

३० वर्षअघि नै सांसद भइसकेका उनी मन्त्री भने पहिलो पटक भएका हुन् । यो अवसर पनि एमाले फुटेपछि मिलेको हो । उनी नेकपा एकीकृत समाजवादीको नेतृत्व गर्दै सरकारमा गएका छन् । उनी नेकपा एसका तर्फबाट सबैभन्दा वरिष्ठ मन्त्री पनि हुन् ।

शुरुमा उनले शहरी विकास मन्त्रालय सम्हाल्ने चर्चा भएको थियो‚ तर पार्टीको आन्तरिक समीकरण मिलाउने क्रममा राज्यमन्त्री बनाइएका नेता भवानी खापुङले ‘राज्यमन्त्री बन्नुपर्ने भए विरोध कमरेड (खतिवडा)को मात्र बन्छु’ भनेपछि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरविरोधमा खतिवडाले सधैँ माधव नेपाललाई साथ दिए । नेकपा एकता भङ्ग भएर एमाले पुनःस्थापित हुँदा पनि माधव नेपाललाई साथ दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक गरेको संसद् विघटन र ओलीका धेरै कार्यको विरोधमा विरोधले आवाज उठाए । माधव नेपालले एमालेबाट आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्तामा विरोधको दरिलो साथ रह्यो । संसद्‌मा ३० वर्ष पहिले नै आएको भएपनि मन्त्री हुन नपाएका विरोधलाई एमाले फुटेपछि भने मन्त्री बन्ने अवसर जुर्‍यो । समयका हिसाबले उनले करिब डेढ वर्ष मन्त्रीको रुपमा काम गर्न पाउनेछन् ।

कोरोना भाइरसको महामारी कायमै रहेका बेला खतिवडा मन्त्री भएका छन् । एक परिपक्व र राजनीतिको लामो अनुभव भएका उनले कस्तो काम गर्छन् भन्ने हेर्न बाँकी नै छ । तर हिजो संसद्‌मा उनले उठाउनेजस्तै प्रश्नहरू उठाउने सांसद र आम नागरिकलाई दिनुपर्ने जवाफप्रति जिम्मेवार बन्न सक्छन् कि सक्दैनन् भन्ने उनको परीक्षा सुरु भएको छ ।

‘मन्त्री खतिवडाले तत्काल कर्मचारी प्रशासनदेखि खोप व्यवस्थापनमा ध्यान दिनुपर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । यो बेला देखिने गरी स्वास्थ्य प्रणालीमा भएका कमजोरी सुधार गर्न लागिपर्ने हो भने स्वास्थ्यमन्त्री खतिवडा सफल हुने उनीहरूको टिप्पणी छ । ‘स्वास्थ्य मन्त्रालयमा गर्न सकिने धेरै कुरा छन्, साँच्चै सुधार गर्ने भनेर लाग्ने हो भने उहाँले धेरै काम गर्न सक्नुहुन्छ‚’ लामो समय स्वास्थ्य मन्त्रालयमा बिताएका एक सरकारी अधिकारीले भने ।

स्वास्थ्य क्षेत्र सिधै नागरिकको जीवनसँग जोडिएको एक महत्त्वपूर्ण विषय भएकाले पनि यो क्षेत्रमा गर्न चाहे छिट्टै परिणाममुखी काम गर्न सकिने उनले बताए । यो समय खतिवडालाई काम देखाउने अवसरको समय पनि हो ।

नेपालका निजी स्वास्थ्य संस्थामा अहिले पनि सर्वसाधारणले उपचार गराउन नसक्ने अवस्था छ ।

कोरोना महामारीका बेलामा यो कुरा झन् छर्लङ्गै देखियो । तर सरकारी अस्पतालमा भने कतिपय सेवा नपाइने, पालो पर्खिनुपर्ने, स्वास्थ्य उपकरणहरू नभएर निजीमै जानुपर्ने बाध्यता छ ।

निजी स्वास्थ्य सेवा महँगो छ भने सार्वजकि स्वास्थ्य सेवा कम गुणस्तरीय र कम भरपर्दो छ । त्यसैकारण कतिपय उपचार नपाएर वा गराउन नसकेर ज्यान गुमाइरहेका छन् । उपचार गराउनेले पनि धेरै खर्च गर्नुपर्ने अवस्था छ । यो तीतो यथार्थलाई कम गर्न स्वास्थ्यमन्त्री खतिवडाले नीतिगत प्रबन्ध गर्नुपर्ने हुन्छ । खतिवडामा काम गर्न सक्ने क्षमता र अनुभव दुवै छ र यो उपयुक्त समय पनि हो‚ तर उनले यस्ता विषय कत्तिको प्राथमिकतामा राख्छन् भन्ने कुरा महत्वपूर्ण हो ।

चारपटक सांसद भएकाले उनीसँग कानून निर्माणमा राम्रो अनुभव छ । स्वास्थ्यका धेरै विषयमा नीति तथा कानून निर्माण र संशोधन गर्नुपर्नेछ । कोरोनाकै सन्दर्भमा २०२३ सालको संक्रामक रोग ऐनअनुसार काम भइरहेको छ । खतिवडा कानून बुझेका मान्छे हुन्, जसरी सांसद हुँदा जनताको आवाज उठाएका छन्, अहिले उनी ठाउँमा पुगेको बेला लागि जनतालाई हित गर्ने स्वास्थ्य नीति बनाएर कार्यन्वयन गर्न सके भने त्यो उनलाई सम्झने र नागरिकले प्रत्यक्ष सुविधा पाउने विषय हुनेछ ।

अर्कातिर सार्वजनिक स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन अर्को चुनौतीपूर्ण कुरा बन्दै गएको छ ।

चार वर्ष देखि डाक्टरको स्थायी विज्ञापन नखुल्दा डाक्टरहरू विदेशिने क्रम बढेको छ । भएकाहरू पनि सन्तुष्ट छैनन् । दुर्गम भेगमा डाक्टर खटाउने तथा डाक्टरसहित अन्य स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्थापन गर्नुपर्ने कुरा उनले गर्नुपर्ने अर्को प्राथमिकताको काम हुनुपर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

कोरोना महामारीको बेला केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय हुन नसकेर महामारी नियन्त्रणमा सरकार असफल भएको अनुभव छ । तीन तहको सरकारको अधिकार र कार्यक्षेत्रमा अन्यौल भएकाले महामारी नियन्त्रणको कामसमेत प्रभावित भएको थियो । अब समन्वयको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा पनि उनको प्राथमिकतामा हुनुपर्नेछ ।

नेपालमा खोप खरीद र व्यावस्थापमा ब्रेक थ्रू-भइसकेकाले पनि स्वास्थ्यमन्त्री खतिवडालाई खोपको विषयमा धेरै गाह्रो नहुन सक्छ । सरकारले असोजसम्म एक तिहाई नागरिकलाई खोप दिने लक्ष्य राखेकोमा हालसम्म त्यो लक्ष्य करिब भेटिएको छ ।

हाल ३२ प्रतिशतले पूर्ण खोपको मात्रा पाइसकेका छन् भने ४० प्रतिशतले पहिलो मात्रा पाइसकेका छन् । त्यसैगरी काठमाडौँ उपत्यकामा ७४ प्रतिशतले दुवै डोज खोप पाइसकेका छन् भने ८१ प्रतिशतले पहिलो मात्रा खोप पाएका छन् ।

स्वास्थ्यमन्त्री खतिवडालाई खोप वितरणको यो रफ्तार बढाउने चुनौती पनि उत्तिकै छ ।

सुरुवातमै रहेकाले धेरै भन्न नसकिने भए पनि अहिले यति भन्न सकिन्छ स्वास्थ्यमन्त्री खतिवडा काम देखाउने समयमा मन्त्री भएका छन् । उनले कसरी काम थाल्नेछन्‚ त्यसले नै उनका भावी कामहरूबारे आकलन गर्न सकिने अवस्था बनाउला । वर्षौंदेखि सरकार र मन्त्रीलाई प्रश्न सोधेका खतिवडाले अब अरुका प्रश्नको जवाफ दिने समय सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *