लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ?

काठमाडौँ । लुम्बिनी प्रदेशमा आइतबार (आज) मन्त्रिपरिषद् विस्तार हुँदैछ । गठबन्धन दलहरूले मन्त्रीको नाम टुङ्ग्याइसकेपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको कांग्रेस सचेतक फखरुद्धिन खानले बताए । मन्त्रीहरूले शपथ ग्रहण गर्न लागेको नेता खानले बताए ।

नेपाली कांग्रेसले मन्त्रीको नाम टुङ्ग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको थियो । यद्यपि अहिले कांग्रेसले पनि टुङ्ग्याइसकेको अवस्था छ । ‘कांग्रेसले पनि टुङ्ग्याइसक्यो,’ नेता खानले भने, ‘तरखर हुँदैछ । अब मन्त्रीज्यूहरूले शपथ ग्रहण गर्नुहुन्छ ।’

कांग्रेसले वन, वातावरण तथा भूसंरक्षणमा सुरेन्द्र हमाल, शिक्षा विज्ञान युवा तथा खेलकुदमा वसिउद्दिन खाँ र ऊर्जा, जलस्रोत तथा सिचाईंमा वीरबहादुर रानालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

यस्तै राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल विक र अर्जुनकुमार श्रेष्ठलाई पठाउने निर्णय भएको नेता खानले बताए । यसअघि साउन २८ गते कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकासमन्त्री बनिसकेका छन् ।

यस्तै माओवादी केन्द्रले पनि मन्त्रीहरूको नाम टुङ्ग्याइसकेको छ । माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन् भने सोही पार्टीबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन् ।

यसअघि माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनिसकेका छन् । माओवादीले योपटक आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ । माओवादीले पाएको मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) बाट रमा घर्ती मन्त्री बन्ने माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

रमा लुम्बिनीमा नेकपा एकीकृतको तर्फबाट एकमात्र सांसद हुन् । गत साउन २८ गते चारदलीय गठबन्धन सरकार बनेपनि दलहरुबीच मन्त्रालय र मन्त्रीको भागबण्डामा कुरा नमिल्दा लामो समयदेखि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *