नेपाल महिला परिवारको विशेष भेला सम्पन्न

काठमाडौँ ।  तेस्रो महाधिवेशनको तयारीमा रहेको नेपाल परिवार दलको भातृ सङ्गठन नेपाल महिला परिवारको विशेष भेला काठमाडौँमा शनिवार सम्पन्न भएको छ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालको आतिथ्यतामा सम्पन्न भेलाले १०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

जसमा ७० जना निर्वाचित र ३१ जनापछि समितिले मनोनयन गर्ने गरी १०१ सदस्य घोषणा गरिएको छ । महिला परिवारको संयोजकमा दलका केन्द्रीय सदस्य बुद्धिमाया पुन, सह संयोजकमा केन्द्रीय सदस्य रिता महतो महासचिवमा धर्मी भुसाल, प्रवक्तामा जानकी घिमिरे, कोषाध्यक्षमा हरिमाया गुरुङ, सदस्यहरूमा यनुका पौडेल गायिका प्राश्ना पाण्डे, शान्ति अधिकारी लगायत १०१ जना रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिवर्तनका उपलब्धिहरू संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिवादीहरुबाट मुक्त गर्न सम्पूर्ण महिला शक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताए ।

पूर्व मन्त्री समेत रहेका नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरूलाई जनताले अस्वीकार गरी नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरी मुलुकको विकास र समृद्धिको यात्रालाई तीव्रता दिनु पर्ने बताए ।

ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमूल्य समय खेर जाने बताए । नेता ढकालले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरू सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाव समेत दिए ।

अध्यक्ष ढकालले आगामी निर्वाचन अघि नै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद् लगायत व्यवस्था गर्न र संविधानलाई सर्वस्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवश्यक पर्ने सुधारको लागी एक संविधान सुधार सिफारिस आयोग गठन गर्नु पर्नेमा जोड दिए ।

नेता ढकालले नेपालमा वैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता निर्विकल्प रहेको बताउँदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दलसँग जोड्न विशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक दर्जन जना महिलाहरु परिवार दलमा प्रवेश पनि गरेका थिए । उनीहरूलाई अध्यक्ष ढकालले माला र टिका लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रममा शुभकामना दिँदै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् सभासद् कौशल शाहले मुलुक परिवर्तन हैन देशमा भएका संरचनाहरूमा परिवर्तन आवश्यक रहको बताउँदै महिला परिवारले नेपाली महिला आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा बोल्दै दलका प्रवक्ता सन्तोषकुमार पौडेलले महिला सशक्तीकरण र सम्पूर्ण वर्ग र क्षेत्र, जाती र समुदायको सबै क्षेत्रमा समानुपातिक सहभागिता तथा प्रतिनिधि गराउनु पर्ने कुरामा जोड दिए ।

दलका महामन्त्री विनोद डाँगीले पार्टी स्थापना पश्चात् भएका महत्त्वपूर्ण कार्यक्रमको बारेमा जानकारी दिँदै  देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसङ अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।

केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठले जनताले दुई तिहाइ मत दिँदा पनि देशले स्थिर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै परिवार दलले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद्को पक्षधर शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल महिला परिवारकी संयोजक एवम् सभासद् मिलन कुमारी राजवंशीले शान्ति, संवाद र पारस्परिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टाचार मुक्त बनाउन महिला परिवारले भूमिका खेल्ने बत्ताइन । सभासद् राजवंशीले महिला परिवारको प्रतिवेदन वाचन गरेकी थिइन् । परिवार दलले देशभरि आफ्नो सङ्गठन विस्तार तथा  कार्यक्रमलाई तीव्रता दिएको छ ।

सो विशेष भेलामा दलका केन्द्रीय सदस्यहरू, विभिन्न भातृसंगठनका प्रमुखहरू लगायत दशैभरिबाट सयौँको सङ्ख्यामा महिलाहरूको सहभागिता रहेको थियो । गायक जय कुमार चौधरी गायिका प्राश्ना पाण्डे लगायतले सांगीतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन महिला परिवार महासचिव धर्मी भुसालले गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *