मन्त्रिपरिषद् विस्तार

नेतृत्वकर्ता कांग्रेसले नै टुङ्ग्याउन सकेन मन्त्री

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले शुक्रबार (आज) अपराह्नसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । तर, उनकै दल नेपाली कांग्रेसमा मन्त्रीहरूको टुङ्गो लागेको छैन । ७ मन्त्रालय पाएको कांग्रेसभित्रका समूह (गुट) का कारण यो समस्या आएको हो ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र नेता कृष्णप्रसाद सिटौला समूह विद्यमान र सक्रिय छन् । उनीहरूले सरकारमा भाग खोजिरहेका छन् । पौडेल समूहले आफ्नो भागमा तीन मन्त्रालय हुनुपर्ने अडान छोडेको छैन भने सिटौला पक्ष पनि ‘दुई मन्त्रालय पाए हुने’ भन्ने मनसायमा छ ।

संस्थापन पक्षबाट भने अहिलेसम्म ४ जना मन्त्री बनिसकेका छन् । प्रधान मन्त्री देउवाले किस्ता–किस्ता गरी परराष्ट्रमा नारायण खड्का, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की, गृहमा बालकृष्ण खांण र स्वास्थ्यमन्त्रीमा उमेश श्रेष्ठलाई पठाएका छन् ।

पौडेल समूहले आफ्नो भागमा अनिवार्य तीन मन्त्रालय हुनुपर्ने बताइरहँदा प्रधान मन्त्री देउवा भने तीन मन्त्रालय दिने सोचमा छैनन् । प्रधान मन्त्री देउवाले पौडेल समूहलाई दुई र सिटौला समूहलाई एक मन्त्रालय दिने बताएका छन् । यसमा सिटौला समूहले भने विरोध जनाएको छैन । उसँग दुईजना मात्रै सांसद छन् । यसो हँदा सिटौला समूहबाट सरकारमा जाने नेताहरूमा दिलेन्द्र बड्डू र तेजुलाल चौधरी छन् । बताइएअनुसार बड्डूको सम्भावना बढी छ ।

पौडेल समूहले भने आफूलाई तीन मन्त्रालय नभइ नहुने अडान राखेको छ । यसअघि पौडेलले प्रधान मन्त्री देउवालाई भेटेर तीन मन्त्रालय नभइ नहुने बाध्यता रहेको सुनाएका थिए । भेटमा पौडेलले (पौडेल, कोइराला र सिंह) परिवारबाट एक÷एकजना सरकारमा पठाउनुपर्ने बाध्यता रहेको भन्दै प्रधान मन्त्री देउवालाई भनेका थिए । तर, प्रधान मन्त्री देउवा पौडेलको मागको सुनुवाइ गर्न सकारातमक देखिएका छैनन् । यसपछि थप विलम्ब हुने देखिएको हो ।

देउवाले महाधिवेशनमा सहयोग गर्ने सर्तमा पौडेल समूह छोडेर आउने नेतालाई आफ्नो तर्फबाट मन्त्री बनाउने रणनीति बनाइरहेको नेताहरू बताउँछन् । मन्त्री बनाउँदा पौडेल समूहमा देखिने असन्तुष्टि ‘क्यास’ गर्ने देउवाको तयारी रहेको बताइन्छ ।

पौडेल–कोइराला गुटबाट सुजाता कोइराला, मिनेन्द्र रिजाललगायतबाट सरकारमा जाने बताइन्छ । प्रधान मन्त्री देउवाले दुई मन्त्रालय मात्र दिने बताएपछि प्रकाशमान सिंहले भने भाग नपाउने अवस्था बनेको छ । सिंहले राजन केसीलाई मन्त्री बनाउन खोजेका थिए । पौडेल र कोइराला पक्षबाट सरकारमा सहभागिता हुने देखिएपछि सिंह आक्रोशित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *